महिनावारी हुँदा कति समयमा प्याड परिवर्तन गर्ने?



२७ कार्तिक २०७६, काठमाडौं

महिनावारी भएको बेला आफ्नो सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन्। महिनावारी भएको बेला सरसफाईमा ध्यान पुर्याउन नसकेको खण्डमा विभिन्न किसिमका संक्रमण हुने जोखिम उच्च रहन्छ।

महिनावारीको बेला प्रयोग गरिने प्याड, लुगा वा न्यापकिन कस्तो प्रकारको छ र कति समयको अन्तरालमा परिर्वतन गर्ने गरिन्छ यी सबै कुरा सिधै हाम्रो स्वास्थ्यसँग जोडिने गर्दछ।

के तपाईँलाई थाहा छ? महिनावारी भएको समयमा एक दिनमा कतिपटकसम्म प्याड परिवर्तन गर्नुपर्छ भनेर।

स्वास्थ्यसम्बन्धि विशेषज्ञहरुका अनुसार, महिनावारी भएको समयमा हरेक ४ घण्टामा प्याड बदल्नुपर्दछ। यदि तपाईँ घरेलु कपडाको टुक्रा प्रयोग गर्नुहुन्छ भने त झन प्रत्येक २–२ घण्टामा बदल्नुपर्दछ।

तर यो नियम सबैका लागि समान ढङगले लागू हुन्छ भन्ने छैन्। प्याडको प्रकृति, रगतको मात्रा हेरेर पनि प्याड परिवर्तन गर्ने समय निर्धारण हुने गर्दछ ।

यी कुरामा ध्यान दिउँ:

हुन त आफ्नो आवश्यकताका आधारमा प्याड बदल्नुपर्दछ। तर लामो समयसम्म एउटै प्याड प्रयोग गरिरहनु भने स्वास्थ्यका लागि हानिकारक मानिन्छ।

एकपटक रगत शरिरबाट बाहिर निस्किएपछि विभिन्न प्रकारबाट दुषित हुने गर्दछ। धेरै रगत बगेको बेला मात्र नभई रगत बग्ने क्रम कम भएको बेला पनि प्याड परिवर्तन गरिरहनै पर्दछ।

लामो समयसम्म एउटै प्याड प्रयोग गरिरहेमा पिसाब संक्रमण लगायतका संक्रमण हुने जोखिम धेरै हुने गर्दछ।

पटक–पटक प्याड परिर्वतन गरिरहनुहोस्:

हुन सक्छ महिनावारी भएको २–३ दिनदेखि तपाईँमा रगत निष्काशनको फ्लो कम हुन सक्छ।

रगत बग्ने क्रम घट्ने बित्तिकै प्याड लामो समयसम्म प्रयोग गरिरहनु गलत हो,परिवर्तन गरिरहनुपर्छ।

एक समयमा एउटामात्र:

कोही मानिसले धेरै रगत बगेको भन्दै एकैपटकमा २ वटा प्याड वा कपडा प्रयोग गर्ने गरेको पनि भेटिन्छन्। तर यो स्वास्थ्यको हिसाबले गलत मानिन्छ।

धेरै रगत बगेको बेला यसले मद्दत गरेपनि स्वास्थ्यका लागि यो उपयोगी तरिका होइन।

२ वटा प्याड प्रयोग गर्दा परिवर्तन गर्ने समय लम्बिने भएका कारण बरु एउटै प्याड प्रयोग गर्ने र छिटो–छिटो परिर्वतन गर्ने गर्नुपर्दछ।

प्रतिक्रिया दिनुहोस्