आजतकले लेख्यो, ‘नेपालमा चीनविरुद्ध ठूलो प्रदर्शन, सीको पुत्ला जलाइयो’



२७ कार्तिक २०७६, काठमाडौं

नेपालमा भारतविरुद्धको प्रदर्शन चलिरहेको छ। तर, भारतीय संचारमाध्यमले भने त्यसलाई प्राथमिकता दिएका देखिँदैन। अझ उनीहरुले उक्त प्रदर्शनलाई नेपालमा चीनविरुद्ध ठूलो प्रदर्शन भनेर प्रचार–प्रसार गरिरहेका छन्।

भारतीय संचारमाध्यमले नेपालमा दैनिक भइरहेका प्रदर्शनका बारेमा जानकारी नै नभएको जस्ता समाचार प्रशारण तथा पकाशन गरिरहेका छन्। चीनविरुद्ध नेपाललाई भड्काउनका लागि भारतीय संचारमाध्यम लागिपरेका छन्।

यसैबीच नेपालको प्रदर्शनलाई लिएर आजतकले छापेको समाचार उसको साइटमा लोकप्रियको पहिलो नम्बरमा छ। उसले प्रयोग गरेका तस्वीर पनि नेपालमा भएको प्रदर्शनको जस्तो देखिँदैन।

भारतको मुख्य धारको टेलिभिजन आजतकले नेपालमा भएको प्रदर्शनको बारेमा समाचार यसरी सम्प्रेषण गरेको छ।

नेपालमा सोमबारको बेइजिङविरुद्ध ठूलो प्रदर्शन भयो। कयौं ठाउँमा चिनियाँ राष्ट्रपति ‘सी’जिनपिङको पुत्ला पनि जलाइएको छ।

चीनविरुद्ध नेपालीहरुले आफ्नो जमिन हडप्न लागेको आरोप लगाएका छन्। प्रदर्शनकारीले सोमबार सप्तरी, बर्दिया, कपिलवस्तुका सडकमा चीनविरुद्ध नाराबाजी गरेका हुन्।

प्रदर्शनकारीको हातमा ‘गो ब्याक चाइना’ र ‘रिटर्न नेपाली ल्याण्ड’ जस्ता ब्यानर थिए। नेपालको नापी विभागले हालै सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा चीनले ३६ हेक्टर नेपाली जमीन अतिक्रमण गरेको जनाएको थियो।

सर्वेकाअनुसार नेपाल–चीन सीमा क्षेत्रमा पर्ने संखुवासभा, रसुवा, सिन्धुपाल्चोक र हुम्लामा नेपालले कयौं हेक्टर जमिन चीनको महत्वकांक्षी सडक परियोजनामा गुमाएको छ।

तथ्यांकअनुसार हुम्ला जिल्लाको भागदारे नदी नजिकै ६ हेक्टर जमिन र कर्णाली जिल्लामा चार हेक्टर जमिन चीनले कब्जा गरेको छ। यो अब तिब्बतको फुरांग इलाकामा पर्छ।

त्यस्तै सान्जेन नदी र जाम्बु खोला नजिकै ६ हेक्टर जमिन दक्षिण तिब्बतको केरुङमा पर्छ। प्रतिवेदनअनुसार चीनले भोटेकोशी र खरनेखोला इलाकामा पनि १० हेक्टर जमिन अतिक्रमण गरेको छ। यो पनि तिब्बतको न्यालम अन्तर पर्छ।

यसअघि नेपालले कालापानीको भारतीय क्षेत्रमा देखाएपछि पनि आपत्ति जनाएको थियो। तर, भारतले नेपाल–भारत सीमा क्षेत्रमा कुनै परिवर्तन नगरेको जनाएको छ।

पछिल्लो समय चीनले नेपालमा आफ्नो प्रभाव बढाउन प्रयास गरिरहेको छ। हालै चिनियाँ राष्ट्रपति सी जिनपिङ भारत भ्रमण लगत्तै नेपाल पुगेका थिए। भ्रमणका क्रममा चीनले व्यापार र मेडिसिनसमेत २० सम्झौतामा हस्ताक्षर गरेको थियो।

भारतको विदेश मन्त्रालयले हालै नेपाललाई दुई देशबीच मतभेद गराउने प्रयासकाविरुद्ध सावधान रहन सल्लाह दिएको थियो।

नोटः आजतकले प्रयोग गरकै तस्वीर यहाँ प्रयोग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्