‘२०७८ बैशाखसम्म काठमाडौँवासीलाई मेलम्चीको पानी ख्वाउन प्रतिबद्ध छु’ : आयोजना प्रमुख थापा (भिडियो सहित)



२६ बैशाख २०७६, काठमाडौं

वि.सं. २०२१ असोज २१ गते ओखलढुङ्गा जिल्लामा जन्मिएका भोजविक्रम थापाले स्नातक गरेपछि २०४५ सालमा तत्कालीन सोभियत संघबाट सिभिल ईन्जिनियरिङ र नेपालबाट वातावरणीय ईन्जिनियरिङमा स्नात्तकोत्तर गर्नुभएको हो ।

सोभियत संघमा अध्ययन पुरा गरी फर्कनुभएका थापाले आफ्नै जिल्ला ओखलढुङ्गामा खानेपानी तथा ढल विभाग मार्फत सरकारी सेवामा प्रवेश गर्नुभएको हो । ओखलढुङ्गापछि थापाले दार्चुला, सुर्खेत, सोलुखुम्बु, नवलपरासी, सुर्खेत, लमजुङ, नेपालगञ्ज लगायतका जिल्लाहरुमा प्रमुख र क्षेत्रीय निर्देशकको रुपमा काम गर्नुभएको छ ।

दुई वर्षअघि देखि मेलम्ची खानेपानी आयोजनामा उपकार्यकारी निर्देशकको रुपमा सिन्धुपाल्चोक जिल्लामै खटिनु भएका थापा सरकारले तोकेकै समयमा मेलम्चीको पानी खुवाउन विश्वस्त रहनु भएको छ । आफ्नो सरकारी सेवाको ३१ औं वर्ष पुग्दा दुई दशक भन्दा बढी चर्चामा रहेको तर सफल हुन नसकेको मेलम्ची खानेपानी परियोजना प्रमुखको रुपमा करिब एक महिनादेखि कार्यरत हुनुहुन्छ ।

वहासँग मेलम्ची खानेपानी आयोजनाबारे गरिएको कुराकानी :

रोगी परियोजनाको रुपमा रहेको मेलम्ची खानेपानी कार्यान्वयन निर्देशनालय प्रमुख भएर आउनुभएको छ, काठमाडौँवासीले मेलम्चीको पानी खान पाउने आधारहरु के–के हुन् ?
प्रशस्त आधारहरु छन् । किनकी धेरै ठूलो रोग लागेको होइन, सानो रोगमा नै धेरै समस्या देखिएको हो । ठूलो समस्या भनेको समाधान भईसकेको छ । मेलम्ची भ्यालीबाट काठमाडौँ भ्यालीसम्म रहेको २७ किमी लामो टनेल सबैभन्दा ठूलो चुनौती थियो त्यो हामीले समाधान गरिसकेका छौं । त्यसपछि टनेलको फाइनल फिनिसिङको कुरा मात्र थियो । ती कामहरु पनि धमाधम सुरु गरियो । पछिल्लो समय ठेकेदारदले छोडेर एक्सिडेन्ट भयो । त्यसैकारण लामो समयसम्म विनाकारण यो प्रोजेक्ट अड्किएको हो । यो पानी आउने निश्चित नै छ । काठमाडौँवासीले मात्र नभएर मेलम्चीवासीले पनि यहाँको पानी खान पाउनुपर्छ भन्ने कुराको मैले अनुभूति गरेको छु । किनकी हामीले काठमाडौँलाई दुलही दिदैँछौ । दुलही अन्माएर लादाँ खेरी विधि पुर्‍याएर लानुपर्छ त्यसै लान पाइदैन भन्ने कुरा भएको छ । मेलम्ची आयोजना प्रभावितहरुलाई ३ सय भन्दा बढी सानाठूला आयोजनालाई निर्माण गराएर म यहाँ आएको हुँ ।

 टेक्नीकल्ली सबै ठिक छ, यो आउँछ भनेको त कृष्णप्रसाद भट्टराईको पालादेखि नै हो नी ? यी चाहिँ भाषणका कुरा भए, खासमा मेलम्चीको पानी काठमाडौँको धारामा कहिले झर्छ ?
टेक्नीकल्ली मात्र योजना आउने होइन । सबभन्दा पहिले योजना सुरु गर्न आर्थिक स्रोत अर्थात पैसा हुनुपर्छ । बिना पैसा मुखले बोलेर आयोजना हुदैँन । आयोजनाको लागि पैसा सन् २००८ मा एडीबीले बल्ल दिएको हो । त्यो भन्दा अगाडी भनेको बिना पैसाका कुरा हुन् । एडीबीको पैसा लिन नेपाल सरकारले ३ वटा ऐनहरु संशोधन गरेर नयाँ ऐन बनाएपछि बल्ल पैसा दिएको हो । पैसा दिएपछि सुरुङ खन्ने काम सन् २०१० को अप्रिलमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सुन्दरीजलबाट सुरु गर्नुभएको थियो । अहिलेको एग्रिमेन्टलाई आधार मान्ने हो भने १२ महिनामा उनीहरुले टनेलको सबै कामहरु सिध्याउने प्रतिबद्धता गरेका छन् । सम्झौता अनुसार परियोजना पुरा हुन १५ महिना लाग्छ । यस हिसाबले २०७८ सालको बैशाखमा पानी आउने देखिन्छ ।

मेलम्चीबाट आएको पानी अहिले जोरपाटी, कपन क्षेत्रमा समेत बिस्तार गरिएको छ । ठेक्का शैलुङ कन्सट्रक्सन अति विवादित भएको हुँदा समयमै काम हुदैन भन्ने जनगुनासो छ नि ?
शैलुङ कन्सट्रक्सनसँग मैले पनि कुरा गरेपछि अबको समयमा उहाँहरुले आफ्नो सेड्युलहरु पेस गर्नुभएको छ । त्यसको लागि आवश्यक पर्ने पाइपहरुको एलसी खोलीसक्नु भएको छ र समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अब उहाँहरुले २२ महिना भित्र त्यो काम सक्नुहुन्छ ।

ठेकदारले ठेक्का लिने, पहिलेदेखिको प्लानिङ नहेर्ने अन्तिममा गएर थप्ने हुन्छ, यहाँले त्रैमासिक, चौमासिक कसरी प्लानिङ गर्नुभएको छ सैलुङको ?
हामीले परियोजनाको एउटा मास्टर प्लान बनाउँछौ । मास्टर प्लानमा सुरुबाट अन्तिम गर्ने भन्ने हुन्छ । मास्टर प्लानका आधारमा टुक्रा प्लानहरुको अवस्था हेर्छौ । यसको लागि अब एउटा साईट ईन्जिनियरको अफिस नै कपनमा स्थापित गर्दैछौ ।

तपाइको ३१ बर्षे प्रोफेसनल करियरमा मेलम्ची खानेपानी एउटा चुनौतीको परियोजना हो भनेर स्वीकार गर्नुहुन्छ ?
हरेक परियोजनाहरु चुनौती कै हुन्छन् । तर त्यसलाई ट्याकल गर्ने कुरामा भर पर्छ । सबै आयोजनाका कामलाई ढङ्ग पुर्‍याएर गर्ने हो भने अवश्य सफल हुन्छन् । यो भन्दा अघि पश्चिामाञ्चल क्षेत्रमा ४ आयोजना एकैपटक सुरु गरेको थिए त्यसमध्ये २ मा सबैभन्दा चुनौती दुईटामा थियो । सल्यानमा तल फेदीबाट ४६० मिटर सिधा उकालोमा पानी तानेर खलङ्गाको टुप्पोमा पुर्‍याउनुपर्ने थियो । जुन अधिकांशले असम्भव देखिरहेका थिए । हामीले समयमै पानी पुर्‍याएर त्यहाँका जनतालाई खुवाएका छौं । त्यसैगरी टिकापुर खानेपानी आयोजना जहाँ ६० लाख जनसंख्यालाई पानी खुवाउनु चानचुने कुरा थिएन । ठेकेदारले टेण्डर रकमभन्दा ३० प्रतिशत कममा २०० किलोमिटर पाईपलाईन, साढे चार लाख लिटरका ३ ओटा ठूलो ओभरहेड ट्याङ्की निर्माण गरी आयोजना दुईबर्ष भित्र सक्नु असम्भव जस्तै ठानिन्थ्यो । मैले तोकिएको समयमै उक्त आयोजना पुरा गरेको छु ।

अघिल्ला २ परियोजनालाई भन्दा यसलाई सहज रुपमा हेर्नुभएको छ ?
मलाई चाहिँ यो सहज नै लागेको छ ।

अघिल्ला दुई परियोजनालाई आधार मानेर तपाई यो परियोजना समय सिमा भित्रै सक्नुहुन्छ ?
हजुर ! समयमै सकिनेमा म विश्वस्त छु ।

सकिएन भने ?
मेरो ज्ञान, क्षमता र अनुभवका आधारमा म विश्वस्त छु ।

२०७८ बैशाखसम्ममा काठमाडौँवासीले मेलम्चीको शुद्ध पानी खान पाउँछन् त ?
 मेरो विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्