सीमा विवादः प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन



२६ कार्तिक २०७६, काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ।

भारतले पछिल्लो पटक जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि समेटिएकोमा सरकारी पक्षबाट केही पहलकदमी नभएको भन्दै उनीहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन्।

प्रदर्शनमा सरिक विद्यार्थीहरु हातमा प्लेकार्डसहितः

नेविसंघ काठमाडौंको आयोजनामा चाबहिलमा मंगलबार बिहान गरिएको प्रदर्शनमा सहभागीहरूले ‘सरकार कता हरायो?, ‘राष्ट्रियता जोगाउन किन डरायो?’, ‘केपी ओलीको राष्ट्रवाद हेरियो’, ‘राष्ट्रकै नक्सा फेरियो’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रदर्शनमा सरिक हुने विद्यार्थीहरु ब्यानरसहितः

प्रदर्शनमा ५०० भन्दा बढी विद्यार्थी नेताहरुको सहभागिता रहेको नेविसंघ पशुपति क्याम्पस कमिटिका विद्यार्थी नेता करुणा सागर सिग्देलले जानकारी दिए।

प्रदर्शनको नेतृत्वमा दुई विद्यार्थी नेताः

उनीहरुले गत शुक्रबार पनि प्रदर्शन गरेका थिए। प्रदर्शनमा उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद’ब्यानरका साथ राष्ट्रिय झण्डामा उत्रिएका थिए।

भारतले आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेदेखियता नेपालले नेपाली भूमि समेटेको भन्दै विरोध जनाउँदै आएको छ।

उता भारतले भने उक्त विषयलाई गम्भीरताका साथ लिएको देखिँदैन।

यो पनि पढ्नुस् लः

–भारतीय नयाँ राजनीतिक नक्साविरुद्ध नेविसंघ पशुपतिद्वारा प्रदर्शन

प्रतिक्रिया दिनुहोस्