जन्मदिनमा केक काटेर बत्ति निभाउनु हाम्रो संस्कृति होईन, त्यसलाई सुधार्नुपर्छ : अष्टलक्ष्मी शाक्य (भिडियो सहित)



२३ कात्तिक २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले जन्म दिनमा केक काट्नु आफ्नो सस्कृति नभएको बताएकी छिन् ।

नेकपा काठमाडौं महानगर कमिटीले नेपाल सम्बत् ११४० को अवसरमा आयोजित कार्यक्रममा शाक्यले भनिन्,“अहिले सामाजिक सञ्जालमा हामीले धेरै देख्ने गरेका छौँ सबैले जन्मदिन मनाउने गरेका छन् । जन्मदिन मनाएर फेसबुकमा हाल्ने अहिले चलन नै चलेको छ । सबैले जन्मदिनमा केक काट्ने गरेका छन् । केक काटेर खानुस् त्यसमा अन्यथा छैन । तर केक काट्नेसँगै बत्ती निभाउने जुन चलन छ त्यो कहाँबाट सुरु भयो ? जन्मदिन मनाउँदा आखिर हामी बत्ती किन निभाउँछौँ त ? हामी अन्धकारतिर नभएर उज्यालोतिर ढकेलिनु पर्ने हो नि ? कम्तिमा जन्मदिनको कुरा गर्दा हाम्रो परम्परालाई पछ्याउँ भन्ने मेरो कुरा हो । केक काट्ने कुरा हाम्रो होइन । भाषाकै कुरामा पनि मैले जोड गर्न चाहे । हाम्रो भाषालाई हामीले बचाउनुपर्छ भन्ने कुरा गरिरहँदा हाम्रै बच्चाले हाम्रो भाषालाई प्रयोग गर्छन् कि गर्दैनन् भन्ने कुरामा छलफल गर्नु आवश्यक छ । महानगरले लागू गरेर मात्र भाषा जोगिदैन । ठिक छ अन्य भाषाहरु हामीले सिक्नुपर्छ तर हाम्रो भाषालाई हामीले कसरी महत्व दिने भन्ने कुरा पनि विचार गर्नु आवश्यक छ ।”

शंखधर साख्वाप्रति उनको धारणा थियो, “मुख्य कुरा नेपाल सम्वत राष्ट्रिय सम्वत भयो । शंखधर साख्वा राष्ट्रिय विभूति हुनुभो भनेर गर्व गर्ने कुरा भने छैन । साँच्चै नै साख्वाका भावनालाई आत्मसाथ कसरी गर्ने भन्ने कुरामा अलि केन्द्रित हुन जरुरी छ । हामी प्रत्येकले उहाँको स्मृतिमा माला लगाउँछौँ । तर त्योसँगै उहाँको राम्रो भावनालाई कसरी आत्मसाथ गर्न सकिन्छ भन्ने कुरालाई पनि अघि बढाउन आवश्यक छ । त्यसैगरी नेपाल सम्वत राष्ट्रिय सम्भवको रुपमा रहँदा हामीले यसलाई साँच्चै नै कार्यान्वयन गर्ने भन्ने कुराको छलफल गर्नुपर्छ  । किनकी आन्दोलनबाट प्राप्त गरेको यो लक्ष्यलाई बचाउनको लागि संरक्षण गर्ने, व्यवस्थित गर्ने, यसलाई अझै प्रभावकारी बनाउनेतर्फ महानगरको ध्यान जानुपर्छ ।

संस्कृतिको संरक्षण र सम्वर्द्धनमा जोड दिँदै शाक्यले भनिन् “अहिले संस्कृतिभित्र विकृति छाएको छ । यो कुरालाई हामी आफैँले पनि ख्याल गरिरहेका छैनौं । मैले दशैँको बेला पनि यो कुरा भनेको थिए । हाम्रो आकाश खाली किन हुन्छ ? दशैँको बेला भनेको चङ्गा उडाउने बेला हो तर किन यस्तो भएको छैन ? किन ल्यापटपमा हाम्रो चङ्गा उड्छ ? यो संस्कारलाई अब हामीले छलफल गर्ने कि नगर्ने ? यसभित्र धेरै महत्वपूर्ण ऐतिहासिक कुराहरु छन् । तर हामीले यसलाई स्थापित गर्न सकेनौँ । अबको बर्षमा आकाशमा चङ्गा उड्नुपर्छ । यसबाहेक दशैँभित्र अरुपनि विकृति भित्रिएको छ । विस्तारै यसलाई केलाउनुपर्छ । अब तिहार नै मनाइरहँदा पनि धेरै विभेदका कुराहरु म देखिरहेको छु । राम्रो कुराहरु त छदैँ छन्, जसले नेपालको पहिचान बनाएको छ । साथसाथै विकृतिका कुराहरु पनि रहेका छन् ।

हामीले हाम्रो देशको भौगोलिक, सांस्कृतिक, जातीय, धार्मिक विविधताले नै हामीलाई विश्वमा चिनाइरहेको छ । त्यसैले प्रष्ट रुपमा अब हामीले यो विविधतालाई अझै कसरी व्यवस्थित बनाउन सकिन्छ त ? हाम्रो संस्कृति, भाषालाई हामीले बचाउन सक्यौ भने मात्र लामो समयसम्म यसलाई जोगाउन सक्छौँ, नेपाल भनेर चिनाउन सक्छौँ र नेपाली भएर बाँच्न सक्छौँ । त्यसैले समयमा राजनीतिक भन्दा पनि सांस्कृतिक छलफल गर्दा राम्रो हुन्छ किनकी राजनीतिक कुरा हामी धेरै गर्छौ तर अब सामाजिक रुपान्तरणको एजेन्डा पनि हाम्रो लागि महत्वपूर्ण छ । जबसम्म यो रुपान्तरणलाई हामी व्यवस्थित गरेर लान सक्दैनौं, साँच्चै नै सु–व्यवस्थित समाज हामीले निर्माण गर्न सक्दैनौँ ।

संविधानले समेत परम्परालाई, संस्कृतिलाई एकअर्का मिलेर मनाऔँ भनेको छ । यसो भनिरहँदा संविधानले संस्कृतिभित्रको कतिपय गलत कुराहरु हटाउने विषयपनि उठाएको छ । त्यसैकारण साँस्कृतिक पर्वहरु जुन समयमा आउँछन् , त्यसबेला यसबारे छलफल गरेर अघि बढ्न सकियो भने हाम्रो संस्कृति अझै सु–सँस्कृत हुनसक्छ ।

हामीले हाम्रो भूमिका निर्वाह गर्न सकेनौँ भने समयको रुपान्तरण अनुसार कतिपय संस्कृतिमा सुधार गर्नुपर्ने कुराहरु आउँदैनन् । नयाँ ढङ्गले सँस्कृतिलाई हामीले विकास गर्न सक्दैनौं । त्यसैकारण यो हाम्रो काम हो । त्यसमा पनि अझ यो नेकपाको काम हो भन्न रुचाउँछु म ।”

पार्टी जीवनको सन्दर्भमा शाक्यको चिन्ता थियो, “यतिबेला हाम्रो पार्टी अनुशासनमा साह्रै कमजोर भएको छ । नैतिक आचरण साह्रै कमजोर भएको छ । उच्च स्तरमा बस्ने साथीहरुले आफ्नो धरातल गिराएको अवस्था छ । हामीले जसरी हुन्छ पदमा बस्ने, जे कुरामा पनि पैसा नै संकलन गर्ने गरेका छौँ । यसले गर्दा पार्टीको छवि साह्रै अप्ठ्यारोमा परेको छ । त्यसैले हामीले पुष र माघ महिनाभर वैचारिक र सैद्धान्तिक प्रशिक्षण कामलाई जोड गरेका छौँ । त्यसमा पार्टीको दस्तावेज, पार्टीको मार्गदर्शनको बारेमा अध्ययन हुन्छ । महानगरले अब योजना बनाउनुपर्छ । मंसिर अन्तिमसम्म सबै कमिटी निर्माण गर्नुपर्ने र स्थानीय तहका सबै कमिटीहरु निर्माण गरिसक्नुपर्ने छ ।  पुषदेखि सबै पार्टीको स्कूलमा जाने भएकोले यो कामलाई व्यवस्थित र प्रभावकारी बनाउने बारे सोच्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्