कपनमा पानी सम्बन्धि पहिलो बहस : अल्पकालीन र दीर्घकालीन समस्या समाधान गरिने



२२ कात्तिक २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका  वडा नं. ८,९, १०, ११, १२ र  १३ को खानेपानी समस्या समाधानको लागि मिलनचोक पार्टी भेन्यूमा सरोकारवाला सहितको पहिलो अन्तरक्रिया कार्यक्रमको तयारी पुरा भएको नगरप्रवक्ता नवराज भट्टराईले परिवर्तन खबरलाई बताएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडका कार्यकारी निर्देशक ई. मिलनकुमार शाक्य, लिमिटेडका आयोजना कार्यान्यवन निर्देशनालय प्रमुख भोज बिक्रम थापा, नगरपालिकाका प्रमुख सल्लाहकार सुन्दर पुर्कुटी तथा अन्य सल्लाहकारहरु, नगरप्रमुख उद्धवप्रसाद खरेल, उपप्रमुख रमादेवी राई, पाँचै वडाका वडाध्यक्षहरु, टोल विकास संस्थाका प्रमुख तथा स्थानीय सरोकारवालाहरुको सहभागीता रहने प्रवक्ता भट्टराईले जानकारी गराए ।

बूढानीलकण्ठ नगरपालिका  वडा नं.  १०, ११ र  १२ को संयुक्त ब्यानरमा हुने कार्यक्रममा ५ वटै वडाका जनप्रतिनिधिहरु, टोल विकास संस्थाका प्रतिनिधिहरु, स्थानीय बासिन्दाहरुको सहभागीता रहने बूनपा–१२ का वडाध्यक्ष शम्भु भट्टराईले बताए ।

यस क्षेत्रको खानेपानी समस्या समाधानको लागि डा. राजन भट्टराईको पहलमा करिब २ अर्ब ६४ करोड बजेट व्यवस्थापन गरी टेण्डर समेत आव्हान भएको अवस्थामा कामले गति नलिएपछि डा. राजन भट्टराईकै विशेष पहलमा योजना कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले सरोकारवालासहित ठेकेदारसँगको अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको वडा नं. ११  का वडाध्यक्ष राजु अधिकारीले परिवर्तन खबरलाई बताए ।

विहान ७ः३० देखि आयोजना हुने कार्यक्रम अन्तरक्रियात्मक ढंगले संचालन हुने आयोजकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्