भारतीय नयाँ राजनीतिक नक्साविरुद्ध नेविसंघ पशुपतिद्वारा प्रदर्शन



२२ कार्तिक २०७६, काठमाडौं

नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो राजनीतिक नक्सामा पारेको भन्दै नेविसंघ पशुपति क्याम्पसले प्रदर्शन गरेको छ।

संघले शुक्रबार बिहान क्याम्पस परिसरबाट शुरु गरेको र्‍याली मित्रपार्क, विपलबोट, चाबहिल हुँदै फेरि कलेज परिसरमै आएर कोणसभामा परिणत गरेको थियो।

सभालाई सम्बोधन गर्दै नेविसंघ पशुपति क्याम्पसका अध्यक्ष जीवन श्रेष्ठले वीर गोरखालीहरुको रगत र पसिनाको सम्मान गर्नुपर्ने बताए।

“हाम्रा वीर सपुतहरुले दुःखले आर्जेका मुलुकलाई संरक्षण दिन हामी सबैको कर्तव्य हो। हाम्रो राष्ट्र रहेमा मात्रै हामी नेपाली हौं भन्ने प्रमाण रहन्छ। हाम्रो वीर गोरखालीहरुको रगत र पसिनाको हामीले सँधै सम्मान गर्नुपर्छ।” उनले भने।

करिब ५०० भन्दा बढी विद्यार्थीहरु सहभागी र्‍यालीमा नेपाली भूमि फिर्ता गर, भारतीय विस्तारवाद मुर्दावाद, कालापानी हाम्रै हो, सीमा अतिक्रमण बन्द गर, लिम्पियाधुरा–लिपुलेक हाम्रै होलगायतका प्लेकार्ड देखिएका थिए।

भारतले गत सोमबार नयाँ राजनीतिक नक्सा निकालेदेखि यता नेपालले नेपाली भूमि भारतको राजनीतिक नक्सामा समेटिएको भन्दै विरोध जनाउँदै आएको छ।

तर, उता भारतले भने नेपाली सीमा नमिचिएको दावी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्