क्लिनिकको लापरवाहीले १० बर्षीय बालिकाको ज्यान गएपछि आमाको रुवावासी (भिडियो सहित)



२१ कात्तिक २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ८ सुन्दरबस्ती, भंगालमा संचालित अक्सिजन नेशनल मेडिकल हाउस नामको फार्मेसीले अवैध रुपमा संचालन गरेको क्लिनिकमा उपचारको क्रममा उच्च मात्रामा औषधी दिईएपछि १० बर्षीय बालिका कृष्मा खतिवडाको ज्यान गएको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. ८ को कार्यालयमा अङ्गदमणी श्रेष्ठको नाममा दर्ता रहेको उक्त मेडिकल हाउसले बिना दर्ता क्लिनिक संचालन गरिरहेको बालिकाकी आमा मञ्जु बास्ताकोटीले बताएकी छिन् । उनका अनुसार सामान्य ज्वारो आएर मेडिकलमा देखाउन आउँदा त्यही भर्ना गरी रातभरी राखेर ४ बोतल स्लाईनपानी र हाई डोजको औषधी चढाएर निको हुन्छ भनी घर पठाएका थिए ।

घरमा गएपछि छोरीले बारम्बार वान्ता गरि अवस्था अझ नाजुक भएपछि अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल भर्ना गरिएको थियो ।

जापानमा बसोबास गर्ने मृतक बालिकाका आमाबुवा छोरी बिरामी भएपछि नेपाल आएका थिए । सो पश्चात उनीहरुले बालमैत्री अस्पताल लगी आईसीयुमा भर्ना गरेतापनि छोरीको त्यही देहान्त भएको थियो ।

गत असोज २५ गते उपचारको क्रममा मृत्यु भएकी बालिकाकी आमा मञ्जु बास्ताकोटीले हिजो बिहान सोही मेडिकलमा जाँदा अन्य तीन नानीहरु सोही अवस्थामा उपचाररत रहेको देखेपछि मेरो बच्चा मारे तपाईको बच्चा पनि मार्छन् भनी कराउँदा त्यहाँ कार्यरत कर्मचारीले उनलाई हातपात र दुर्व्यवहार गरेका थिए ।

दुर्व्यवहार र हातपात सहन नसकी बास्ताकोटीले हिजोमात्र बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख रमादेवी राईलाई अन्याय परेको भन्दै निवेदन दर्ता गरेपछि आज विहान वडा नं. ८ का वडाध्यक्ष सुमन तामाङ सहित नगरपालिकाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका टोलीले स्थलगत अनुगमन गर्दा मेडिकलले मापदण्ड विपरीत क्लिनिक संचालन गरेको पाईएको छ ।

स्थलगत निरीक्षणपछि अवैध ढङ्गले संचालन गरेको क्लिनिकमा स्थानीय सरकारले मेडिकलको सिलबन्दी गरेको छ । साथै उक्त मेडिकलको लागि रगत जाँच गर्ने प्रयोगशाला समेत गैरकानुनी ढङ्गले संचालन गरेको भनी उजुरी परेपछि बुझ्न जाँदा संचालक भागेकाले त्यहाँ समेत तालाबन्दी गरि सूचना टासिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्