नवनियुक्त प्रदेश प्रमुखः पूर्वउपप्रधानमन्त्रीदेखि जनयुद्धकालीन नेतासम्म



२० कार्तिक २०७६, काठमाडौं

भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सोमबार उनीहरु नियुक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालयका अनुसार प्रदेश नं १ को प्रमुखमा सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश नं २ मा तिलक परियार, प्रदेश नं ३ मा विष्णुप्रसाद प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नं ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त नियुक्त भएकी छिन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सोमबार बसेको सचिवालयको बैठकले नव नियुक्त प्रदेश प्रमुखको नाम टुंगो लगाएको हो। यो पटक नेकपाले पूर्वउपप्रधानमन्त्री तथा राजनीतिक व्यक्तित्वहरुलाई प्रदेश प्रमुखमा छनौट गरेको छ।

संवैधानिक पदमा विशेषगरी पूर्वप्रशासकलाई प्राथमिकता दिइँदै आएकामा यसपटक भने कम्युनिष्ट पार्टीका पुराना नेताहरुलाई जिम्मा दिइएको हो।

नव नियुक्त प्रदेश प्रमुखमा राजनीतिक व्यक्तित्वलाई प्राथमिकता दिएर उनीहरुलाई सम्मान गरिएको नेकपा दावी गर्छ।

त्यसो त नेकपाले आफ्नो घर पायक प्रदेशभन्दा अन्य प्रदेशको प्रमुख बनाएर नयाँ सन्देशसमेत दिएको छ।

सोमनाथ अधिकारी‘प्यासी’–प्रदेश नं १

प्रदेश नं १ को प्रदेश प्रमुखमा नियुक्त अधिकारी नेपालको वामपन्थी आन्दोलनमा लामो समय संघर्ष गरेका व्यक्ति हुन्।

‘प्यासी’उपनामले परिचित अधिकारी कम्युनिष्ट पार्टीमा आवद्ध भएपछि उनले गाउँगाउँमा जनतालाई पञ्चायती शासन व्यवस्थाकाविरुद्ध जागरुक बनाउँदै वर्गीय आचरणअनुसार जाली/फटाहाहरुको तमसुक च्यात्ने काममा सक्रियता देखाउँदै आफूलाई आमजनताका पक्षमा समर्पित गरेका थिए।

विसं २०४३ मा लोकप्रिय मतका साथ उनी कास्कीबाट राष्ट्रिय पञ्चायतको सदस्य तथा विसं २०४८ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। विसं २०६४ मा पार्टीका केन्द्रीय लेखा आयोगको सदस्य तथा ०६८ मा केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा निर्वाचित भएका प्रदेश प्रमुख अधिकारी तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि नेकपाको स्थायी कमिटी सदस्य छन्।

तिलक परियार–प्रदेश नं २

बाँकेको कोहलपुर निवासी पुराना कम्युनिष्ट नेता तिलक परियार प्रदेश नं २ को प्रदेश प्रमुखमा नियुक्त भएका छन्।

तत्कालीन अन्तरिम व्यवस्थापिका सदस्य र विसं २०६४ को संविधानसभा सदस्यसमेत रहेका परियार नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको जनयुद्धकालीन नेता हुन्। कोहलपुर नगरपालिका–१२, निबुवाका स्थायी बासिन्दा परियार बाँकेको कम्युनिष्ट आन्दोलनमा अगुवा नेताका रुपमा स्थापित छन्।

तत्कालीन माओवादीको सचिवालय सदस्यसम्म रहेका परियार तत्कालीन नेकपा माओवादी विभाजिन हुँदा सुरुमा मोहन वैद्यको पार्टीमा लागेका थिए। नेत्रविक्रम चन्द नेतृत्वको नेकपामा समेत सहभागी भएका परियार सो समूह परित्याग गरी तत्कालीन माओवादी केन्द्रमा फर्किएका थिए।

दलित अगुवा तथा राजनीतिककर्मी परियारको नियुक्तिले दलित आन्दोलनलाई समेत न्याय गरेको प्रतिक्रिया आउन थालेका छन्।

विष्णुप्रसाद प्रसाईँ–प्रदेश नं ३

प्रदेश नं ३ को प्रदेश प्रमुखमा नियुक्त प्रसाईं विसं २०२७ सालमै तत्कालीन भूमिगत नेकपा मालेको सम्पर्कमा रहेका उनी प्रधानमन्त्री केपी ओली, सिपी मैनाली लगायतको समकालीन नेता हुन्।

विसं २०५४ मा उनी जिल्ला विकास समिति, झापाको उपसभापतिमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए।

उनी विसं २०७४ मा तत्कालीन नेकपा एमालेका तर्फबाट मेचीनगर नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका थिए।

अमिक शेरचन–गण्डकी प्रदेश

गण्डकी प्रदेशमा नियुक्त भएका शेरचन पूर्वउपप्रधानमन्त्री हुन्।

तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनले उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

तत्कालीन जनमोर्चा नेपालका अध्यक्षसमेत रहेका शेरचनले दोस्रो जनआन्दोलनका क्रममा प्रमुख सात राजनीतिक दलको तर्फबाट सक्रिय भूमिका निर्वाह गरेका थिए।

यस्तै साविक नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगको प्रमुखसमेत रहेका शेरचन पछिल्लो पटक नेकपा नेताका रुपमा कार्यरत छन्।

धर्मनाथ यादव–प्रदेश नं ५

प्रदेश नं ५ को प्रदेश प्रमुखमा नियुक्त यादव नेकपाभित्र सादगी नेताका रुपमा परिचित छन्।

लामो समय शिक्षण पेशामा रहेका यादव विसं २०४८ को चुनावमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए।

विसं २०७३ मा तत्कालीन नेकपा एमालेले गरेको पूर्व–पश्चिम जागरण अभियानका क्रममा झापामा स्थायी समितिको बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो।

गोविन्दप्रसाद कलौनी–कर्णाली प्रदेश

डडेल्धुरा, बैतडी र कञ्चनपुरलाई राजनीतिक कर्मथलो बनाएका गोविन्दप्रसाद कलौनी पुराना वामपन्थी नेता हुन्।

उनी कर्णाली प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका हुन्। तत्कालीन एमालेको जिल्लादेखि केन्द्रीय कमिटीको जिम्मेवारीसमेत सम्हालेका कलौनी विभिन्न समयमा भएको निर्वाचनमा उम्मेदवार बने पनि विजयी भने भएनन् ।

शर्मिलाकुमारी पन्त–सूदुरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएकी पन्त राजनीतिक कार्यकर्ता हुन्।

बेपत्ता पारिएका नागरिकको परिवारका तर्फबाट सशस्त्र द्वन्द्वका समयमा बेपत्ता नागरिकको खोजबिनका लागि पैरवी गर्दै आएकी पन्त तत्कालीन नेकपा (माओवादी केन्द्र)को नेताका रुपमा क्रियाशील थिईन्।

उनी राज्यद्वारा बेपत्ता पारिएका तत्कालीन माओवादीका कार्यकर्ता ज्ञानेन्द्र त्रिपाठीकी पत्नीसमेत हुन्।

 

प्रतिक्रिया दिनुहोस्