प्रदेश प्रमुख पदमुक्तपछि नेकपाको ध्यान पशुपति क्षेत्र विकास कोष नेतृत्वमा (भिडियो सहित)



१९ कात्तिक २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं महानगर वडा नं. ८ कमिटीले पशुपति क्षेत्रको पुर्ननिर्माण र सुधारको माग राख्दै ज्ञापन बुझाउँदै ७ दिनभित्र आफ्ना माग सम्बोधन गर्न अल्टिमेटम दिएको छ ।

नेकपाका नेताहरुले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलाई मागपत्र बुझाउँदै गरेको भिडियो :

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाललाई बुझाउन नेकपा वडा नं. ८ पार्टी कमिटीका रमेश सिंह डंगोल, कृष्णमान श्रेष्ठ, राजनराज भण्डारी, विजयराज भण्डारी, विनोद शाही र नेकपा काठमाडौंका नेता जलद राज वैद्य, महानगर अध्यक्ष निर्मल देउलाको सहभागिता रहेको थियो ।

ज्ञापन पत्र बुझाउने क्रममा नेकपा काठमाडौं महानगरका अध्यक्ष निर्मल देउलाले, पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रको संरक्षण र सम्बर्द्धनमा ध्यान दिनुपर्नेमा त्यसो नगरी ठूला आयोजना निर्माणमा मात्र केन्द्रित भएको प्रति आश्चर्य मान्दै पुनः निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिएका
छन् ।

विकास कोषले स्थानीयवासीसँग मिलेर काम गर्नुपर्ने, शव जलाउँदा वातावरणीय क्षेत्रमा खर्च गर्ने गरी लिइएको शुल्क सोही क्षेत्रमा खर्च गर्नुपर्ने, कोषले एउटा बाटो निर्माण गर्ने फेरि खन्ने, फेरि बनाउने गर्दै छोटो समयमा ३–४ पटक भत्काउने र बनाउने गरेको प्रति समेत उनले आपत्ति व्यक्त गरे ।

छलफलमा नेकपा नेता जलदराज वैद्यले गौरीघाट क्षेत्रका मन्दिरहरु जिर्णाेद्धार गरी पुर्ननिर्माण गर्नुपर्नेमा जोड दिनुपर्नेमा विकास कोषको ध्यान ठूला र नयाँ परियोजना तर्फ मात्र गएकोमा चिन्ता व्यक्त गर्दै कोषले पुरातात्विक सम्पदा संरक्षण तर्फ ध्यान दिन अनुरोध गरे ।

पशुपति क्षेत्रमा राखिएका नन्दीशालामा संरक्षण गरिएका गाईहरुको मृत्युपछि त्यही गाड्नाले दर्शनार्थीहरुले दुर्गन्ध सहन बाध्य भएको तर्फ ध्यान दिन स्थानीय नेकपा नेता विनोद शाहीले ध्यानाकर्षण गराए ।

छलफलमा नेकपाका स्थानीय नेता रमेश सिंह डंगोलले पशुपति क्षेत्रमा भएको वृद्धाश्रम मर्मत गर्नुपर्ने र विभिन्न पुरातात्विक मन्दिरमा रहेका ऐतिहासिक भाँचिएका गजुरहरुको संरक्षणमा समेत कोषले चासो नदिएको प्रति दुःख व्यक्त गरे ।

नेकपाका नेता कृष्णमान श्रेष्ठले ९ बुँदे मागपत्र पढेर सुनाएका थिए भने नेकपाका अर्का नेता रमेश सिंह डंगोलले सदस्य सचिव डा. ढकाललाई मागपत्र बुझाएका थिए । मागपत्र बुझ्दै सदस्य सचिव ढकालले मागहरु सम्बोधन गर्न आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता जनाए ।

नेकपाको ९ बुँदे मागहरु :
१. पशुपति क्षेत्रमा रहेका अमूल्य, पुरातात्विक सम्पदाहरु चोरी हुने, हराउने साथै भत्किएर नासिने क्रम जारी छ । यस्ता सम्पदाहरुको सुरक्षा, उचित संरक्षण र मर्मतको कार्य हालसम्म पनि नभएकोमा हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।
२. पशुपति क्षेत्र विकास कोषले पुरातात्विक सम्पदाहरु गौरीघाट, विश्वरुप तथा अन्यत्र पनि असरल्ल अवस्थामा रहेको विषयलाई बेवास्ता गरी नयाँ संरचना निर्माणमा मात्र ध्यान केन्द्रित गरेको प्रति हाम्रो गम्भिर आपत्ति रहेको छ ।
३. दाताले सहयोग स्वरुप उपलब्ध गराएका नेपाल–भारत मैत्री धर्मशाला, सुमार्गी भवन लगायत अन्य तिर्थयात्री तथा धार्मिक पर्यटकका लागि बनाइएका यस्ता संरचनाहरु व्यापारिक प्रयोजनमा प्रयोग भैरहेको र कतिपय संरचनाको भौतिक अवस्था ब्यापक रुपमा हेरफेर गरिएको प्रति हामी गम्भिर आपत्ति प्रकट गर्दछौँ ।
४. सामान्य मर्मत गरेर सञ्चालनमा आउने वनकाली धर्मशालाको समुचित व्यवस्थापन गर्नुपर्नेमा सो नगरी खण्डहरुको रुपमा परिणत भएको छ ।
५. घाटमा शव जलाउँदा लिइने चिता शुल्कको उचित प्रयोग र यथार्थ हरहिसाब हुनुपर्ने प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । साथै स्थानीय व्यक्तिहरुको शव दाह गर्दा नि:शुल्क हुनुपर्छ भन्ने पनि हाम्रो माग रहेको छ ।
६. पशुपति क्षेत्रमा सञ्चालन भैरहेको पार्किङलाई नाफामूलक होइन सेवामूलक ढङ्गले सञ्चालन गरिनुपर्दछ ।
७. ठूलो धनराशी खर्च गरी निर्माण गरिएका भौतिक संरचना जस्तै– बाटोमा छापिएका ढुङ्गा, पर्खाल ६ महिना नपुग्दै भत्किन थालेको छ । त्यसको जिम्मेवारी कसले लिने ?
८. पशुपति क्षेत्रमा यत्रतत्र पुरातात्विक सम्पदाहरु बेवारिसे अवस्थामा रहेका छन् । तिनको उचित  संरक्षण गर्न पशुपति क्षेत्रभित्रै तत्काल संग्रहालय स्थापना गर्नुपर्दछ । साथै यस क्षेत्रमा पर्यटक तथा आम पाठकलाई लक्षित गरी पूर्वीय दर्शन, शैव दर्शन र मानव सभ्यता विकासको उद्गम स्थल पशुपति बारेको विस्तृत जानकारी सहितको पुस्तकालय स्थापना गर्न जरुरी छ । यसतर्फ सम्बन्धित निकायको ध्यान गएको देखिदैँन ।
९. नियमावलीमा व्यवस्था भएको कोषमा कर्मचारी नियुक्ति गर्दा स्थानीय बासिन्दालाई पहिलो प्राथमिकता दिने भनिएकोमा हालसम्म पनि यसको कार्यान्वयन भएको छैन । हामी आगामी दिनमा कर्मचारी नियुक्ति गर्दा कम्तिमा ६० प्रतिशत स्थानीयलाई प्राथमिकता दिनुपर्छ भन्ने जोडदार माग गर्दछौँ ।

यो पनि पढ्नुहोस् :

पशुपति क्षेत्र विकास कोषलाई नेकपाको ७ दिने अल्टिमेटम

विश्व सम्पदा संरक्षणमा महानगर प्रमुख विद्यासुन्दरको सक्रियता

जयबागेश्वरी जिर्णाेद्धारको क्रममा पुरातात्विक मन्दिर भेटियो

पशुपति क्षेत्रको पार्किङ्ग शुल्कमा अनियमितता : सम्झौता एउटा, शुल्क अर्काे

पशुपति क्षेत्र विकास कोषको असहमतिले ३ शताब्दी पुरानो शाक्यहरुले नाच्ने नागिंचा प्याखं (महादेव–पार्वती नाच) रोकियो

गुह्येश्वरीको बेथिति : विश्व सम्पदा सूचीको बेहाल, सरोकारवाला मौन (फोटो फिचर)

पशुपति क्षेत्र विकास कोषलाई नेपाल कर्मचारी युनियनको पन्ध्र दिने अल्टिमेटम

पशुपति क्षेत्रको जिफन्ट आन्दोलनमा डा. राजन भट्टराईको चासो

पशुपति क्षेत्र जिफन्टको मागपछि पशुपतिको पूर्वी ढोका खोलियो

 

प्रतिक्रिया दिनुहोस्