सोलुखुम्बुमा चन्दा असुल्दै गर्दा विप्लव कार्यकर्ता पक्राउ



१७ कार्तिक २०७६, काठमाडौं

सोलुखुम्बुमा चन्दा उठाउँदै गरेका एक विप्लव कार्यकर्ता पक्राउ परेका छन्।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता चन्दा उठाउँदै गर्दा सोलुखुम्बुबाट पक्राउ परेका हुन्।

सोलुखुम्बुको सोताङ गाउँपालिका एक पावैबाट शुक्रबार ३७ वर्षीय ङिमा शेर्पा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

पक्राउ परेका शेर्पा पूर्वमाओवादी लडाँकू रहेका र अहिले विप्लव समूहका कार्यकर्ता भएको प्रहरीको दावी छ।

उनी सोलुखुम्बुकै महाकुलुङ गाउँपालिका–१ का बासिन्दा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीले बताए।

पक्राउ परेका शेर्पाको साथबाट प्रहरीले पेस्तोलमा लाग्ने गोली ५ थान, मोबाइल २ थान र ८ वटा सिमकार्ड समेत बरामद गरेको छ।

शेर्पालाई शुक्रबार दिउँसो ३ बजे सादा पोशाकमा खटिएको प्रहरी टोलीले प्रक्राउ गरेको थियो। उनले यस अघि विभिन्न व्यक्ति तथा जनप्रतिनिधिहरुसँग चन्दा मागेको पनि खुल्न आएको छ।

प्रक्राउ परेका शेर्पाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सांकेतिक तस्वीर

प्रतिक्रिया दिनुहोस्