नेपाली सेनाको कार्गो विमान आइपुग्यो



१६ कार्तिक २०७६, काठमाडौं

नेपाली सेनाले २ वर्षअघि खरिद प्रक्रिया अगाडि बढाएको सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५–२२० विमान आज काठमाडौं आइपुगेको छ।

शनिबार बिहान १० बजेर ५६ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए। “आज विमान नेपाल आइपुगेको छ। अब हामीले परीक्षण उडान लगायतका काम गर्छौं”, प्रवक्ता पाण्डेले भने,“औपचारिक हस्तान्तरण हुन भने १/२ दिन लाग्ला।”

उनका अनुसार नेपाली सेनाका प्राविधिकको टोलीले आवश्यक चेकजाँच लगायत सम्झौतामा उल्लेख भए अनुसार विवरण हेरेपछि औपचारिक रुपमा इन्डोनेसियाको कम्पनीले जिम्मा लगाउने छ। यो विमान १३ कार्तिकमा इन्डोनेसियाको सास्त्रानेगारा एअरबेसबाट काठमाडौंका लागि उडेको थियो।

त्यहाँको सरकारी कम्पनी पीटी डिरागान्तारा इन्डोनेसियाले निर्माण गरेको यो विमान त्यहाँकै चालकदलका सदस्यहरुले उडान भरेर ल्याएका हुन्। नेपाली सेनाले ३० जुन २०१७ मा ३० मिलियन अमेरिकी डलर (करीब ३ अर्ब ३० करोड रूपैयाँ) मा विमान खरीद सम्झौता गरेको थियो।

प्रतिक्रिया दिनुहोस्