साझा पार्टीको भक्तपुर प्रदेशसभा उम्मेदवारमा प्रधान(विज्ञप्ति सहित)



१५ कार्तिक २०७६, काठमाडौं

साझा पार्टीले भक्तपुर क्षेत्र नं १ (क)बाट सुरज प्रधानलाई प्रदेशसभा उम्मेदवार बनाउने निर्णय गरेको छ।

बिहीबार पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले विज्ञप्ति जारी गर्दै यसअघि संयोजकको रुपमा रहेका प्रधानलाई प्रदेशसभा उम्मेदवार बनाउने घोषणा भएको जानकारी दिए।

विगत लामो समयदेखि समाजसेवा र वातावरण अभियानकर्ताको रुपमा क्रियाशील प्रधान वातावरणमैत्री इँट्टा उत्पादनको व्यवसायी हुन्।

नेकपाबाट निर्वाचित हरिशरण लामिछानेको निधनपछि उपनिर्वाचन हुन लागेको भक्तपुर क्षेत्र नं १ (क)मा ०७४ को चुनावमा विवेकशील साझाले ७८३ मत ल्याएको थियो।

साझा पार्टीले कास्की–२ मा रजनी केसीलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ।

यस्तै पार्टीले आउँदो शनिबार दाङ निर्वाचन क्षेत्र नं ३ (ख)को प्रदेशसभा उमेदवार दाङमै एक कार्यक्रमबीच औपचारिक घोषणा गर्ने विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति

साझा पार्टीको भक्तपुर प्रदेशसभा उमेदवार घोषणा (प्रकाशन र प्रसारणका लागि बिशेष अनुरोध सहित)

साझा पार्टी भक्तपुर जिल्ला संयोजकको रुपमा सक्रिय रहेका २८ वर्षीय सुरज प्रधानलाई साझा पार्टी भक्तपुर क्षेत्र नं १ (क) बाट प्रदेशसभा उम्मेदवार बनाउने निर्णय गरेको छ।

विगत लामो समयदेखि समाजसेवा र वातावरण अभियानकर्ताको रुपमा क्रियाशील प्रधान वातावरणमैत्री ईट्टा उत्पादनको व्यवसाय गर्नुहुन्छ।

पद्धति, पारदर्शिता, इमान्दारी र उत्कृष्टताको चार खम्बामा अडिग रहेर राजनीतिक जिम्मेवारी वहन गर्न प्रतिबद्ध वहॉंले निर्वाचित भएको खण्डमा पुरै तलब आफ्नो निर्वाचन क्षेत्र भित्र कल्याणकारी गतिविधिमा खर्च गर्ने बताउनु भएको छ।

सुसंस्कृत राजनीति र समतामूलक संवृद्धिको राजनीतिक यात्रालाई आत्मसात गर्दै अघि बढेको साझा पार्टीका उम्मेदवारलाई विजयी गराउन हामी सबैसँग हार्दिक अपील गर्दछौँ। साझा पार्टीले आउँदो शनिबार दाङ निर्वाचन क्षेत्र नं ३ (ख) को प्रदेशसभा उमेदवार दाङमैँ एउटा कार्यक्रमका बीच औपचारिक घोषणा गर्दैछ।

डा. सूर्यराज आचार्य

प्रवक्ता

साझा पार्टी

प्रतिक्रिया दिनुहोस्