
१५ कार्तिक २०७६, काठमाडौं
प्रहरीले कांग्रेसका निलम्बित सांसद मोहम्मद आफ्ताब आलम राजपुर बम काण्डमा दोषी रहेको र उनीविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन शुक्रबार सरकारी वकिलको कार्यालयलाई बुझाउने भएको छ।
आलमबारेको अनुसन्धान सकिएको र कुन–कुन कसुरमा मुद्दा चलाउने भन्नेबारे अन्तिम चरणको छलफल भइरहेकाले शुक्रबार नै फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको रौतहट प्रहरीले जनाएको छ।
विसं २०६४ सालमा संविधानसभाको चुनावताका रौतहटको राजपुरमा बम बनाउने क्रममा विष्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा जलाएको अभियोगमा पक्राउ परेका आलम घटनामा दोषी रहेको निष्कर्ष प्रहरीको छ।
आलमले घटना नै नभएको जिकिर गरिरहेका बेला मृतकका परिवार, प्रत्यक्षदर्शी, गाउँले, त्यसबेलाका स्थानीय र केन्द्रीय प्रहरी अधिकारीहरु, तथा घटनामा परेर बाँच्न सफल भएका ब्यक्ति समेतको बयानका आधारमा राजपुरमा त्यसबेला विष्फोट भएकै थियो भन्ने पुष्टि हुने प्रहरीले जनाएको छ।
फाइल तस्वीर





