जम्मू–कश्मीरः आजदेखि औपचारिक रुपमा विभाजित



१४ कार्तिक २०७६, काठमाडौं

भारत प्रशासित जम्मू–कश्मीर बिहीबारदेखि औपचारिक रुपमा विभाजित भएको छ।

जम्मू–कश्मीरबाट लद्दाखलाई विभाजन गरी छुट्टै प्रदेश बनाइएको छ। जम्मू–कश्मीर र लद्दाख दुवै बिहीबारदेखि औपचारिक रुपमा केन्द्र शासित प्रदेश भएका छन्।

भारतले गएको ५ अगष्टमा संविधानको धारा ३७० र ३५ ए खारेज गरेको थियो। सो निर्णय बिहीबार (अक्टोबर ३१) देखि औपचारिक रुपमा लागू भएको हो।

संविधानको धारा ३७० र ३५ ए ले जम्मू–कश्मीरलाई विशेष राज्यको अधिकार/दर्जा दिएको थियो। उक्त दर्जा हटेसँगै राज्यले पाएको विशेषाधिकार सकिएको थियो। विगत ६५ वर्षसम्म जम्मू–कश्मीर भारतको एक स्वायत्त राज्य थियो। त्यसै कारण त्यहाँ छुट्टै प्रशासन, वित्तिय व्यवस्था, कानूनी प्रणाली थियो।

जम्मू–कश्मीरमा सो राज्य भन्दा बाहिरका व्यक्तिले जमिन वा अरु सम्पत्ति किन्न पाउँदैनथे। राज्यको छुट्टै संविधान र झण्डा थियो, यस्तै त्यहाँका नागरिकले भारतसँगै राज्यको नागरिकता पनि प्राप्त गर्थे।

जम्मू–कश्मीरको झण्डा भारतको झण्डासँगै फहराउने गरेको थियो। अब राज्यको झण्डा हुने छैन, मात्रै भारतको झण्डा लाग्ने छ। भारतको इतिहासमा कुनै पनि राज्यलाई केन्द्र शासित प्रदेश बनाएको यो पहिलो घटना हो, तर यसअघि राज्यलाई विभाजन गरेको इतिहास भने थियो।

बिहारबाट झारखण्ड, उत्तर प्रदेशबाट उत्तराखण्ड, आन्ध्र प्रदेशबाट तेलंगाना बनेको थियो। तर जम्मू–कश्मीरलाई भने केन्द्रले राज्यबाट प्रदेशमा सीमित गरेको हो। अब लद्दाखमा विधानसभा हुने छैन। जम्मू–कश्मीर भने पुडुचेरीमा जस्तै विधानसभा जस्तै केन्द्र शासित प्रदेश हुनेछ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्