
१० कार्तिक २०७६, काठमाडौं
चाडपर्व लक्षित गरेर नेपाली फिल्महरुमा गीत निर्माण गरिने प्रचलन निकै न्यून छ।
२ दशक अगाडि तुलसी घिमिरे निर्देशित ‘चिनो’ फिल्मको ‘दियो बाली साँझको’ बोलको तिहार गीत भने कहिल्यै पुरानो भएन।
आज पनि यो गीत उतिक्कै लोकप्रिय र चर्चित छ। जब यो गीत बज्न थाल्छ। तब, तिहारले घर आँगन टेकेको आभाष जो सुकैलाई हुन्छ।
तिहार सम्झाउने गीतहरु थुप्रै बने पनि ‘चिनो’ को गीत अझै पनि कालजयी छ। लक्ष्मी पूजा लक्षित यो गीत हरेक बर्षको लक्ष्मी पूजाको दिन टेलिभिजन र रेडियोमा खुब बज्ने गर्दछ। भारतीय गायिका आशा भोस्लेको स्वरमा सजिएको यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी फिचर भएकी छिन्।
यस्तै तिहार लक्षित अर्को गीत हो, ‘तिहारै आयो, लौ झिलिमिली’। यो गीत घन्कन थालेपछि तिहार नजिकिएको आभाष हुन्छ।
बरिष्ठ निर्देशक शम्भु प्रधान निर्देशित फिल्म ‘स्वर्ग’ मा यो गीत समावेश छ। गीतमा अभिनेत्री गौरी मल्ल देखिन्छिन्। हरेक वर्षको तिहारमा देउसी भैलो खेल्नेहरु यो गीतमा निकै रमाउने गर्दछन्।





