
०९ कात्तिक २०७६, काठमाडौं
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डल र संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठबीच भेटवार्ता भएको छ ।
कात्तिक ८ गते शुक्रबार सिंहदरबारमा भएको भेटमा संघका नव निर्वाचित अध्यक्ष सहित पदाधिकारीको स्वागत गरिएको थियो । भेटका क्रममा विशेषगरी, गैरआवासीय नेपाली नागरिकताका विषयमा छलफल भएको थियो ।
सभापति श्रेष्ठले गैरआवासीय नेपाली नागरिकता सम्बन्धि संविधानमा भएको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्ने चरणमा रहेको र सो सम्बन्धि विद्येयक संसदमा हाल विचाराधिन रहेको स्मरण गराए । विधेयकमा नागरिकता सम्बन्धि अन्य केही विवादहरु भएपनि गैरआवासीय नेपाली नागरिकता सम्बन्धि विषय भने विवाद नभएको उनको भनाई थियो ।
आउँदो हिउँदे अधिवेशनमा सो विद्येयक पारित हुनेमा सभापति श्रेष्ठले विश्वास दिलाए । विद्येयक पारित भए लगत्तै कानून निर्माणको चरणमा प्रवेश गर्ने भएकाले त्यस सम्बन्धमा आफ्नो सल्लाह सुझाव उपलब्ध गराउन समेत उनले आग्रह गरे ।
भेटका क्रममा गैरआवासीय नेपाली संघबाट अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरु डा. बद्री केसी, मन केसी तथा सोनाम लामा, प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडी र पुर्व सचिव डीबी क्षेत्री लगायतको उपस्थिति थियो ।





