बैतडी डोजर आतंकः बेहोश गौरीलाई भारत लगियो



०८ कार्तिक २०७६, काठमाडौं

बैतडी डोजर आक्रमणकी घाइते गौरी जोशी पुनः बेहोस भएपछि थप उपचारका निम्ति भारत लगिएको छ।

नेपालगञ्जमा सीटीस्क्यान गरेर घर फर्काउने क्रममा महेन्द्रनगरमा अचानक बेहोस भएपछि भारत लगेको गौरीका श्रीमान् जगदीश जोशीले बताए।

‘छिनछिनमा बेहोश हुने अझै उस्तै छ। धनगढी र नेपालगञ्जमा उपचार राम्रो नभएपछि विरामीलाई भारत लगिएको छ।’ जगदीशले भने, ‘गरिब मान्छे हजुर। पैसा पनि छैन। श्रीमतीको अवस्था पनि बुझ्न पाएको छैन।’

गौरी जोशी दशरथ चन्द नगरपालिका–९ ग्वाल्लेकमा मोटरबाटो बनाउने विषयमा दुई गाउँबीच कुरा नमिलेपछि जबरजस्ती गर्न खोज्दा घाइते भएकी थिइन्। डोजर चालक केशव बोहोराले जबरजस्ती गर्दै बाटो खन्न थालेपछि प्रतिवादमा उत्रिएकी जोशी बकेटले हानेर सख्त घाइते भएकी थिइन्।

बकेटले हानेर तीन बल्ड्याङ पछारिएकी जोशीको टाउको र ढाडमा गम्भीर चोट लागेको र अवस्था अहिले पनि चिन्ताजनक रहेको उनका श्रीमानले बताएका छन्।

चालक केशव बोहोरालाई प्रहरीले भोलिपल्टै नियन्त्रणमा लिई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ। जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान पनि भइरहेको छ।

ज्यान मार्न उक्साएको आरोपमा डोजर मालिक भवानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध पनि मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्