विगत, खस्कँदो लोकप्रियता, राजनीतिक खिचातानी बीच एनआरएनए स्वर्ण युगको उद्घोष  !



०७ कात्तिक २०७६, काठमाडौं

सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औँ विश्व सम्मेलन तथा महाधिवेशन काठमाडौंको हायात होटलमा सम्पन्न भई कुमार पन्त अध्यक्षका रुपमा निर्वाचित समेत भईसकेका छन् ।

नेपाल सरकारले रोजगारीका प्रयोजनका लागि ११० देश खुल्ला गरेको भएपनि अहिलेसम्म १०७ देशमा काम गर्ने गरी करिब ४३ लाख नेपालीले श्रम स्वीकृति लिएको सरकारी तथ्यांकले देखाउँछ । यद्धपि विभिन्न माध्यमले विदेशी भूमिमा रहेका नेपालीहरुको संख्या भने करिब ८० लाखभन्दा बढी रहेको चर्चा गरिन्छ ।

एनआरएनए स्थापना हुँदा करिब १६ देशका केहि सय सहभागी प्रथम सम्मेलनदेखि नवौं सम्मेलनसम्म आईपुग्दा ८० देशमा बसोबास गर्ने  २ हजार ६ सय ५६ प्रतिनिधिहरुले भाग लिएको संघको केन्द्रीय सचिवालयले जनाएको छ । संघको आकार र आकर्षण बढ्नुमा सन् २००३ देखि २०११ सम्म केन्द्रीय सचिवालयको नेतृत्वमा रहेका व्यक्तित्वहरुको योगदान नै रहेको देखिन्छ ।

विदेशमा रहेका नेपाली नागरिकका ज्ञान, सीप  प्रविधि  र पुँजी परिचालन गरी देशमा सामाजिक तथा आर्थिक योगदान दिने उद्देश्यले स्थापना गरिएको एनआरएनएले पछिल्लो समय नेपालमा विदेशी लगानी भित्र्याउन, परोपकारी कामहरु संचालन गर्न, नेपालको दूतको रुपमा देशको अन्तर्राष्ट्रिय छवि माथि उठाउन अन्त्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पले थला पारेको नेपाली अर्थतन्त्र उठाउन सहयोग गर्नेदेखि भारतले नाकाबन्दी लगाएको समयमा विश्वका विभिन्न शहरहरुमा हजारौँको संख्यामा प्रदर्शन गरी पुर्‍याएको योगदान मात्र होईन तराईमा बाढी आउँदा समेत प्रवासी नेपालीहरुले निस्वार्थ रुपमा मातृभूमी प्रति पुर्‍याएको योगदान जति प्रसंशा गरेपनि थोरै नै हुन्छ ।

नेपालमा दीगो सरकार निर्माण र सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को अघोषित दुतको रुपमा काम गर्न प्रवासी नेपालीहरुले खेल्ने भूमिका मात्र होईन नेपालको छविलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन र विकास गर्न निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । अझ  नेपालको रेटीङ्ग “सी भन्दा तल“ हुँदा समेत नेपालको बारेमा प्रवासमा रहेर नेपालीहरुले गरेका सकारात्मक पहलले समेत नेपालमा लगानी बढ्नमा महत्वपूर्ण भूमिका रहेको देखिन्छ ।

स्थापनाकालदेखि एनआरएनएको अभियानमा क्रियाशील वर्तमान उपाध्यक्ष डा. बद्री केसी स्थापनाको छोटो समयमा विश्वका ८१ देशमा राष्ट्रिय समन्वय समिति निर्माण गरी लाखौँ प्रवासी नेपालीलाई समेट्ने एनआरएनए विश्वको सबैभन्दा ठूलो र व्यवस्थित लोककल्याणकारी संस्था भएको दाबी गर्छन् ।

पहिचान फेरिएको एनआरएनए :
स्थापना कालतिर डा. उपेन्द्र महतोले नेतृत्व गरेदेखि जीवा लामिछाने, डा. शेष घलेहुँदै अहिले कुमार पन्तको पालामा आईपुग्दा एनआरएनएको पहिचान अलि फेरिएको छ । आर्थिक रुपमा निकै सम्पन्न व्यक्तिहरुले मात्र संघमा आवद्ध हुन सक्छन कि भन्ने आम धारणा समेत अहिलेसम्म आईपुग्दा फेरिएको छ । धनी व्यक्तिहरुको संस्थाको ट्याग लागेको संस्था आज आईपुग्दा सबैको साझा संस्थाको रुपमा रुपान्तरित भईसकेको छ ।

धमिलिएको एनआरएनए :
विभिन्न कारणले गर्दा यसपटकको एनआरएनएको पहिचान निकै धमिलिएको छ । निवर्तमान अध्यक्षले प्रधानमन्त्री केपी ओलीलाई सिंगापुरमा भेट्न जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीमाथि गरेको अपशब्दको प्रयोग गरी फिर्ता भएपछि देखि शुरु भएको धमिलोपन नवौं सम्मेलनमा आएका अष्ट्रेलियन प्रतिनिधिले विमानस्थलमा गरेको तोडफोडदेखि सम्मेलनको समयमा भएको केहि अराजक गतिविधिहरुले पछिल्लो समयमा एनआरएनएको विरुद्धमा सामाजिक संजाल खनिएको छ भने संचार जगतले समेत राम्रो मसला भेटेका छन् ।

निर्वाचन समितिका कमजोरीहरु
आफूलाई निकै जान्ने, बुझ्ने र दुनियाँ बुझेको ठान्नेहरुको संस्थाका करिब २५०० मतदाताहरुलाई व्यवस्थित गर्न जाबो विद्युतीय दर्ता र मतदान प्रक्रिया गर्न नसक्दा प्रतिनिधि दर्ता गर्न घन्टौंसम्म लाईनमा बस्न प्रतिनिधिहरु बाध्य भए । विद्युतीय भोटिङ्गको तयारी गर्दा पूर्वपरीक्षण गरिएको देखिएन । त्यतिमात्र होईन यदि मेशिनले काम गरेन भने के गर्ने भन्ने वैकल्पिक तयारी समेत निर्वाचन समितिका साथीहरुले गरेको देखिएन । प्रतिनिधि छनोटदेखि भएको किचलो मतदानमा उभिँदा सम्म देखियो । केहि सयले मतदान गरेपछि भोटिङ मेसिन बिग्रियो भनी रोकिएको मतदानले धेरैलाई आक्रोशित बनायो । हाते मतदानमा समेत शुरु हुने र रोकिने क्रमले व्यवस्थापकीय कमजोरी उदाङ्गो देखियो । प्रतिनिधिहरुलाई आर्थिक प्रलोभनमा पारी निर्वाचन परिणाम बदल्न गरिएका अस्वस्थ प्रतिस्पर्धाले सामाजिक संस्थाको मर्मलाई गिज्याई रहेको देखिन्थ्यो ।

कांग्रेसको निर्लज्जता र अराजकता
९ औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी बनेका जर्मनलाई आधार बनाएर व्यवसाय गर्ने निवासी कुमार पन्त र बेलायतलाई आधार बनाएर व्यवसाय गर्ने कुल आचार्य दुवैले स्थापनाकालदेखि एनआरएनए अभियानमा जोडिएका अभियन्ताहरु हुन् । निर्वाचनको समयमा कुल आचार्यले आफूलाई नेपाली काँग्रेसको निकट भनेर एनआरएनए निर्वाचनको सन्दर्भमा चलाएको अभियानले सिंङ्गो आन्दोलन आलोचित हुन पुग्यो ।

नेपाली कांग्रेसका दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरु निर्वाचन चलिरहेको होटल हायातमा अड्डा नै जमाएर बसे । तरुण दल र नेविसंघको केन्द्रीय नेतृत्वमा रहेकाहरु आचार्यको चुनावी अभियानमा पार्टी चुनावजस्तै गरी निर्लज्ज रुपमा खटे,  डटे, प्रस्तुत भए । जसको कारण निर्वाचन स्थलमा जे नहुनुपर्ने त्यहि भयो । निर्वाचन स्थल बाहिर होहल्ला भयो । हल्लाको रुप बढ्दै जाँदा तोडफोडको रुप लियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठ्ठी चार्ज र बल प्रयोग गर्न बाध्य भयो ।

आफ्नो जन्मभूमि छोडेर प्रवासमा श्रम र पसीना बगाईरहेका नेपालीहरु लोककल्याणकारी संस्थामा साथीभाइ, सह–यात्रीहरु, अग्रज र आफ्नो व्यक्तिगत प्रतिष्ठा समेत विर्सिएर निर्लज्ज रुपमा प्रस्तुत हुँदा आजसम्म आर्जेको प्रतिष्ठा गुमाउन समय नै लागेन ।

अबको बाटो
एनआरएनए पनि धेरै प्रतिवद्धता गर्ने र परिणाम नदिने संस्थाको रुपमा विकास भईरहेको छ । त्यसैले आफ्नो छविलाई उच्च राख्न नेपाल सरकार र निकायसँग गरेका प्रतिवद्धता पुरा गर्नेतर्फ ध्यान दिनुपर्ने देखिन्छ । एनआरएनएको सबैभन्दा बढी बद्नाम निर्वाचनको कारणले भएको छ । त्यसैले आगामी महाधिवेशनमा प्रतिनिधिहरुको डिजिटल दर्ता र डिजिटल भोटिङ्गको व्यवस्था गर्नुपर्ने जरुरी छ । संस्थाको उद्देश्य अनुरुप प्रवासी नेपालीको लगानी, सीप, प्रविधि र ज्ञान भित्र्याउने विशेष योजना बनाएरै लग्नुपर्ने जिम्मेवारी वर्तमान नेतृत्वको चुनौती समेत हो । सम्बन्धित देशमा एनआरएनए ट्रष्ट दर्ता गरी परोपकारी योजनामा उलेख्य रुपमा बृद्धी गर्नुपर्ने दायित्व समेत निर्वाह गर्नुपर्ने देखिन्छ ।

प्रवासमा रहँदा दोश्रो पुस्ताले भुल्दै गएको नेपाली भाषा, संस्कृति संरक्षणमा र प्रयोग बढाउन समेत विशेष योजना बनाउनुपर्ने देखिन्छ । अर्को तर्फ प्रवासमा नेपालीहरुले दर्ता गरी संचालन गरिरहेका परोपकारी संस्थाहरुलाई समेत  एनआरएनएमा  जोडेर परोपकारको कामलाई अझै बढाउन समेत भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।

वर्तमान अध्यक्ष कुमार पन्तले घोषणा कतिपय उद्देश्यहरु लागू गर्न कठिन छ । नि:शुल्क सदस्यता दिने विषय राम्रो देखिन्छ तर सम्बन्धित देशमा बसेकाहरुले संस्थालाई सम्बन्धित देशकै वार्षिक ५ डलर तिर्न नसक्ने हो भने कसरी संस्थाले आफ्नो उद्देश्य पुरा गर्न सक्छ ।

पूर्व अध्यक्ष जीवा लामिछानेको योजनामा चल्ने आरोप लागेका अध्यक्ष पन्तले एनआरएनएको योजनाकारको रुपमा रहेका वौद्धिक अभियन्ता डा. बद्री केसीलाई साथमा लिँदै संस्थालाई राजनीतिबाट टाढा राख्ने योजनावद्ध प्रयासले मात्र संस्थाको गुमेको साख र थपिएको जिम्मेवारीलाई पुरा गर्न सक्छ । योजना कार्यान्वयन र नेतृत्वको व्यवस्थापनले नै संस्थाको स्वर्णिम युगको सपना साकार हुन्छ । जुन सरल रेखाबाट सम्भव देखिदैन् !

प्रतिक्रिया दिनुहोस्