चम्कँदै न्यायिक आशाको बत्ती!



०६ कार्तिक २०७६, काठमाडौं

पछिल्लो समय मुलुकमा न्यायिक आशा थोरै भएपनि पलाएको महसुस आम–जनतामा भएको छ।

सभामुख यौन दूराचारको कसुरमा पक्राउ परी अहिले प्रहरी हिरासतमा छन्। गृहमन्त्रीका भाइ अपराधको अभियोगमा पक्राउ परे। कांग्रेस सांसद मोहम्मद अफताब आलम ज्यूँदो मानिसलाई इटाभट्टामा जलाएको आरोपमा समातिए। यी घटनाक्रमले न्यायिक एकरुपता त देखाएको छ नै यसका अलवा आम–जनतालाई आफू विधियुक्त मुलुकमा बाँचेको रहेछु भन्ने आभाष पनि गराएको छ।

अहिलेको सरकार दुईतिहाइको हो। यो जनताले राम्रोसँग बुझेका छन्। शक्तिशाली, जस्तो पनि काम गर्न सक्ने, स्वतन्त्र… यसको मतलब हुन आउँछ। तर, आम–जनताको भावनाअनूरुप काम कारबाहीलाई अगाडि बढाउन नसक्दा उनीहरुमा केही तुषारापात पलाउँदै आएको भने सत्य हो।

मुलुक संघीयतामा गएको छ। तीन तहको सरकार बनिसकेको छ। यति हुँदाहुँदै पनि विकास निर्माणका कामदेखि लिएर न्यायिक पाटोसम्ममा केही खटपट हुँदै आएको कुरा पनि अकाट्य हो। तर, पछिल्लो समयको न्यायिक पाटोले भने जनतालाई सरकारप्रति विश्वास गर्ने एउटा खुड्किलो बनाएको छ।

कानून लाटो हुनुपर्छ। यो अर्थमा कि, यसले शक्ति, सत्ता र रवाफ चिन्नु हुँदैन। तर, नेपालमा शक्ति, सत्ता र रवाफकै भरमा दण्डहीनताको शृखंला बढ्दै गएको छ। यद्यपि, यतिबेला राजनीतिक वृतभित्र न्यायिक पाटोमा जे देखिन्छ, त्यो भने तारिफयोग्य छ। अब–उप्रान्त यो शृखंलामा क्रमभंगता नआए आम–जनताले लोकतान्त्रिक गणतन्त्रको आभाष गर्ने नै छन्।

कुनै कुनै घटनाहरु बाहिर आउँदा जसरी आउँछन्। पछि उही रफ्तारमा हराउँछन् पनि। यो नेपालमा विद्यमान एउटा चूनौतीपूर्ण समस्या हो। यसको पछाडीका कारण हुन्, उही…शक्ति, सत्ता अनि रवाफ। तर, अब भने स्वच्छ ढंगको कानूनको आवश्यक छ। निष्पक्ष तवरले अनुसन्धान गरी पीडितलाई न्याय र पीडकलाई सजाय गर्ने अभिभारा अहिलेको शक्तिशाली सरकारको हो। माथि उल्लेखित न्यायिक पाटोले जनमानसपटलमा जगाएको आशालाई अझै बलियो बनाउने वर्तमान सरकारको कर्तव्य नै हो।

खुब चलेको अनि नेपालको परिप्रेक्ष्यमा सुहाउँदो एउटा टुक्का छ, ‘ठूलालाई चैन, सानालाई ऐन’। तर, यो कुरा चाहिँ पक्का होकि, सानाले ठूलाबाटै सिक्ने हुन्। माथिल्लो ओहोदामा बसेकाहरुलाई विभिन्न शक्तिहरुको माध्यमबाट निर्दोष सावित गर्ने अनि सानाहरुलाई भने जहाँबाट भएपनि कानूनको कठघरामा उभ्याउने चलनले अपराधलाई अझै प्रश्रय दिने कुरामा दुई मत छैन।

कानून ठूला अनि साना दुवैका लागि बराबर हो। सबै संविधानतः दण्डित अनि पुरस्कृत हुनुपर्छ। यति भएमात्रै सबै नागरिकले आफू जन्मेको अनि बसेको भूमिप्रति सकारात्मक आभाष गर्न सक्छन्।

जननेता मदन भण्डारीले भनेका छन्, “एकजना राजा रहने कुराले त्यत्रो ठूलो कुनै आपत्ति गर्दैन। तर, सामन्तवाद, दलाल, पूंजीवाद र साम्राज्यवादको शासन रह्यो भने, राजा नरहेपनि हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन।” अबको यो समय यी ‘वाद’हरुबाट टाढा गई विधिको शासन अनि कानूनी राज स्थापनामा लाग्ने समय हो। र देशबासीहरुले चाहेका पनि यी नै हुन्।

अबको राजनीतिले देशलाई सही बाटो र पाटोमा लैजाने हैसियत राख्नैपर्छ।

प्रतिक्रिया दिनुहोस्