दोस्रो विश्वयुद्धताका डुबेको जहाजका भग्नावशेष फेला



०५ कार्तिक २०७६, काठमाडौं

दोस्रो विश्वयुद्धको भीषण संघर्षको दौरानमा समुद्रमा डुबेका दुईवटा जापानी जहाजलाई सामुद्रिक खोजकर्ताहरुले फेला पारेका छन्।

फेला परेका दुई जहाजका भग्नावशेष मिडवेको लडाइँ भनेर चिनिने सन् १९४२ मा संयुक्त राज्य अमेरिका र जापानबीच भएको प्रमुख हवाई तथा सामुद्रिक लडाइँका क्रममा डुबेका सातवटा जहाजमध्येकै भएको खोजकर्ताहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

कागा नामक एउटा जहाजलाई गत साता खोजकर्ताहरुले फेला पारेका थिए भने अर्को जहाज अकागीलाई गत आइतबार पत्ता लगाइएको थियो। हालसम्म सो लडाइँका दौरान समुद्रमा डुबेका जहाजमध्ये एउटा जहाजको भग्नावशेष मात्रै फेला परेको छ। सो जहाज अमेरिकी यूएसएस योर्कटाउन हो। सन् १९९८ मा उक्त जहाजको भग्नावशेष फेला परेको थियो।

जहाजसम्बन्धी अनुसन्धान गर्ने एउटा जहाज पेट्रेलमा आवद्ध सदस्यहरुले कैयौं सातासम्मको खोजीपछि पछिल्ला खोज पत्ता लगाएको हो। पेट्रेल जहाज माइक्रोसफ्टका दिवंगत सहसंस्थापक पल एलेनद्वारा स्थापित भुल्कन इन्कर्पोरेसनको स्वामित्वमा रहेको जहाज हो।

सोनार उपकरणको प्रयोगद्वारा कागा र अकागी कहाँ छन् भनेर पत्ता लगाइएको थियो। पेट्रेल जहाजका खोजकर्ताहरुले सोनार जोडेर पानी मुनि कुद्ने एउटा उपकरण पठाएका थिए। पेट्रेलले अमेरिकी जलसेनासँग मिलेर पनि काम गरेको थियो। अमेरिकी जहाजका सामानहरु पानी मुनि भएकाले त्यसलाई क्षति नहोस् भनेर पेट्रेल जहाजका सदस्यले अमेरिकी जलसेनासँग मिलेर काम गरेका थिए।

भेटिएका दुवै जापानी पानी जहाज समुद्रको करिब १८ हजार फिट मुनि भेटिएको खोजकर्ताहरुले बताएका छन्। ती जहाज पापाहानामोकुवाकिया मरिन नेसनल मनुमेन्टको वरपर भेटिएको बताइएको छ। सो मनुमेन्ट (स्मारक) विश्वको सबैभन्दा ठूलो सामुद्रिक संरक्षित क्षेत्र हो।

उत्तरी प्यासिफिकमा पर्ने साना टापुहरुको समूह ‘मिडवे एटोल’ लाई युद्धका बेला अमेरिकी सेनाको तैनाथीका लागि प्रयोग गर्ने गरिन्थ्यो। दोस्रो विश्वयुद्धका बेला जापानले सो टापुहरुलाई खोस्ने तयारी गरेको थियो तर अमेरिकाले त्यसबेला उसको सञ्चारमा हस्तक्षेप गर्‍यो र उसको योजनालाई चकानाचुर पारिदियो। सन् १९४२ को जुन ४ का दिन जब टापुमा जापानी सेना आइपुग्यो र आक्रमणका लागि तयारी अवस्थामा थियो, त्यही बेला अमेरिकी सेना उनीहरुलाई कुरिरहेको जापानी सेनाले देखे।

सो लडाइँमा दुई हजार जापानी नागरिक र तीनसय अमेरिकीको मृत्यु भएको थियो। त्यसबेला कुल सातवटा जहाज समुद्रमा डुबेका थिए, जसमध्ये चारवटा जापानी जहाज थिए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्