
०५ कार्तिक २०७६, संखुवासभा
संखुवासभामा नेपाली सेनामा लगाइदिन्छु भनेर ठगी गर्ने एक युवक राईलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चिचिला गाउँपालिका–१ बस्ने राजकुमार राई रहेको जिल्ला प्रहरी कर्याालय संखुवासभाका प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्तोष राईले बताउनुभयो ।
उहाँका अनुसार, नेपाली सेनामा भर्ना गराइदिने प्रलोभनमा पारेर उम्मेदवारको आमासँग एक लाख २० हजार रुपैया मागेको, त्यसमा दुवै जना बीच ८० हजार रुपैयामा सहमति भइ ५० हजार रुपैया लेनदेन समेत भएको थियो ।
बराहदल गुल्म, खाँदबारी ब्यारेक संखुवासभामा आएको सूचनाको आधारमा ठगी गर्ने राज कुमार राईलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राईले बताउनुभयो ।
नियन्त्रणमा लिइएका राजकुमारको साथबाट ५८ हजार रुपैयाँ समेत बरामद गरिएको छ । उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको र त्यसपछि जिल्ला अदालत चैनपुर पठाइने पनि इन्सपेक्टर राईले जनाउनुभएको छ ।
बराहदल गुल्म खाँदबारी ब्यारेकले गएको साउन १६ गते देखि भदौ २३ गते सम्म विज्ञापन आह्वान गरेको थियो । त्यसै अनुरुप सबै प्रक्रिया पूरा भएर कोटा अनुसार भर्ना प्रक्रिया सकिइसकेको बराह दल गुल्मले जनाएको छ । उज्यालो अनलाईनबाट साभार गरेको हो ।





