
०५ कार्तिक २०७६, काठमाडौं
सडक निर्माणका बिषयमा बैतडीमा विवाद भएपछि चालकले स्थानीयमाथि नै डोजर चलाउँदा आठ जना घाइते छन्।
दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका बिषयमा विवाद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइते हुनेमा स्थानीय ३५ बर्षीया गौरी जोशी रहेका छन्। उनको बैतडीमा उपचार हुन नसकेपछि कोहलपुर रेफर गरिएको छ।
यस्तै अन्य घाइतेहरुमा सुरेन्द्र प्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी रहेका छन्।
गौरी डोजरकै आक्रमणबाट घाइते भएकी र अरु आपसी विवादमा घाइते भएका जनाइएको छ। सडक निर्माणका बिषयमा दुई पक्षबीच कुरा नमिल्दा झडप भएको थियो। सडक लैजान नदिने र सडक लैजानुपर्छ भन्ने पक्षबीच विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ।
आफूहरुले सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण पक्षले जबरजस्ती आफूहरुको जमिनमा डोजर चलाएको स्थानीय हंशराज जोशीले जानकारी दिए। “सडक निर्माण हुने ठाउँमा देवताको गुठीको जमिन पर्ने र यो विषयमा सबै गाउँलेसँग सहमति गरेर अघि बढ्ने भने पनि निर्माण पक्षले जबरजस्ती गरेको हो।” उनले भने। तर निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले भने डोजरमा एक्कासी ढुङ्गामुढा गरेको आरोप लगाएका छन्।
सडकका विषयमा पहिलादेखि विवाद रहेको र अहिले आफूहरुको जमिनमा डोजर चलाउँदा झडपको स्थिति आएको स्थानीय दुर्गादत्त जोशीले बताए। उनले भने,“आफूहरुले जमिनमा जबरजस्ती डोजर चलाएर लैजान खोजेको र स्थानीय गौरा जोशीलाई डोजरले फालेपछि झडपको स्थिति आएको हो।”
तर सडक निर्माण गरिरहेको पक्षले भने सडक खन्दा एक्कासी आएर डोजरमा ढुङ्गामुढा गरेपछि झडपको स्थिति आएको बताएको छ। आफूहरुले सडक निर्माण गरिरहेको र एक्कासी डोजरमा ढुङ्गामुढा गर्दा झडप भएको सडक निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीको भनाइ छ।
यसै शिलशिलामा स्थानीय महिलालाई हुत्याउने डोजर चालक पक्राउ परेका छन्। महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका २ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
बोहरामाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। यसैगरी घटनासँग सम्बन्धीत अन्य तीन जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।





