नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास प्रधानमन्त्रीबाट हुँदै



०४ कार्तिक २०७६, काठमाडौं

सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास हुँदै छ।

यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक सुरुङमार्ग निर्माण हुन लागेको हो। यो मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’समेत निर्माण गरिने आयोजनाले जनाएको छ।

सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको हो। सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाई ओभर’ पनि देशकै पहिलो हुनेछ।

सुरुङमार्ग लागि गत ६ असोजमा जापानस्थित हाजमा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो। निर्माण कम्पनीले साढे तीन वर्षमा काम सक्नेछ।सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण हुनेछ।

यही परियोजनाअन्तर्गत स्थानीय उत्पादन संकलन केन्द्र निर्माण हुने आयोजनाले जनाएको छ। जापान अन्तरर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया सुरु भएको थियो।

यसका लागि २२ अर्ब रुपैयाँ लाग्नेमा जाइकाले १६ अर्ब रुपैयाँ सहयोग गर्ने र छ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ।

प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्