
०४ कार्तिक २०७६, काठमाडौं
नेपाल प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित तीनजनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा नक्कली नोट छाप्ने उपकरणसहित तीन जनलाई नियन्त्रणमा लिएको हो।
फक्राउ पर्नेमा लखा मैलुङ नगरपालिका–७ का २६ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपाली रहेका छन्।
घरको एकतला भाडामा लिएर नक्कली नोट छाप्दै गरेका बखत उनीहरुलाई पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश सिंहले बताए।
पक्राउ परेकाहरूबाट प्रहरीले रू १००० दरका ३४ थान नक्कली नोट बरामद गर्नाका साथै नोट छाप्न प्रयोग हुने फोटोकपी मेसिन एक थान, सीपियू एक थान, मनिटर एक थान, क्यामरा एक थान, कैँची चार थान, गम चार थान, ठूलो साइजको कागज १४२ थान र सानो साइजको कागज १४९ थान बरामद गरेको छ।
पक्राउ परेका व्यक्तिले उक्त उपकरणबाट हालसम्म कति नक्कली नोट छापे भन्नेबारे अनुसन्धान भइरहेको वृत्तले जनाएको छ।





