नेपाल–भारत सीमाका २,७१६ स्तम्भ गायब



०४ कार्तिक २०७६, काठमाडौं

नेपाल–भारत सीमामा रहेको २ हजार ७ सय १६ स्तम्भ गायब भएको पाइएको छ।

नेपाल–भारतबीच ८ हजार ५ सय ५३ सीमा स्तम्भ रहेको सरकारी तथ्यांक छ। तर तीमध्ये २ हजार ७ सय १६ सीमा स्तम्भ गायब भएका पाइएको हो। तराइका कपिलवस्तु, पर्सा र मोरङदेखि ताप्लेजुङ, पाँचथर, बैतडी, दार्चुला र डडेल्धुरासम्मका भारतीय सीमावर्ती जिल्लाका स्तम्भ हराएका हुन्।

गृह मन्त्रालयले २०७१ सालदेखि हालसम्म ८ हजार ५७ सीमा स्तम्भ निरीक्षण गरेको, तीमध्ये ३ हजार ७ सय ३३ सीमा स्तम्भ मात्र मर्मत र निर्माण गरेको जानकारी दिएको छ। तर यसबीचमा ४ हजार ८ सय २० सीमा स्तम्भ के कस्तो अवस्थामा छन्, विभागीय मन्त्रालय गृह र भूमि व्यवस्थाले प्रष्ट पारेका छैनन्।

सीमा स्तम्भको सुरक्षा दिनु गृह मन्त्रालय र निर्माण, मर्मत र संरक्षण गर्ने काम भूमि व्यवस्था मन्त्रालयको भए पनि यी दुवै मन्त्रालय एक–अर्कालाइ देखाएर आफ्नो जिम्मेवारीबाट पछि हटिरहेका छन्। गृह मन्त्रालय संकलित तथ्यांकलाई आधार मानी सम्बन्धित प्रमुख अधिकारीलाई जानकारी गराउने मात्र आफ्नो जिम्मेवारी रहेको बताउँछ।

यता भूमि व्यवस्था मन्त्रालयले अहिले अध्ययन भइरहेको र तिहारपछि सीमा स्तम्भको खोजी, मर्मत र निर्माणको काम सुरू हुने जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्