सभामुखले कानुनी उन्मुक्ति पाउँदैनन् भने ठेकेदारहरु को हुन् : डा. राजन भट्टराई



०३ कात्तिक २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं महानगरपालिका वडा नं. ३० द्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले मुलुक सुशासन र समृद्धिको बाटोमा अघि बढेको बताउँदै गल्ती गर्ने सभामुखले कारवाही भोग्नुपर्छ भने कुनै बहानामा निर्माण सम्पन्न नगर्ने ठेकेदारहरुले उन्मुक्ति नपाउने धारणा राखेका छन् ।

७ खण्डमा विभाजन गरी अघि बढिरहेको मेलम्ची खानेपानी परियोजना काठमाडौंवासी एकवर्ष भित्र उपभोग गर्न पाउने जानकारी गराए ।

कार्यक्रममा नेकपा काठमाडौं जिल्ला संगठन कमिटिका सचिव हिमाल शर्माले पार्टी संरचना अभावले कार्यकर्ताहरु मिडिया र सामाजिक संजालमा आएका विचारले धारणा बनाउँदा पार्टी आलोचना बढेको बताउँदै पार्टी एकताका सबै काम सकेर वडा तहसम्म प्रशिक्षण अभियान संचालन गर्न लागेको जानकारी दिए ।

नेकपा काठमाडौं महानगर कमिटि अध्यक्ष निर्मल देउलाले विगतमा कम्युनिष्ट पार्टीहरु फुटन मात्र जानेको इतिहास तोड्दै अहिले कम्युनिष्ट पार्टीको एकताले प्रतिक्रियावादीहरु हच्किएको बताउँदै छिटो भन्दा छिटो एकता टुङ्गयाएर पद्धति संगत ढंगले पार्टी संचालन गर्न आफू लागि परेको बताए ।

नेकपा काठमाडौंका जिल्ला सचिवालय सदस्य तेज ढकालले उपयुक्त निर्देशनको अभावमा पार्टीको एकीकृत शक्ति परिचालन हुन नसकेको बताउँदै काठमाडौं महानगरपालिका वडा नं. ३० मा रहेका बौद्धिक र विशिष्ट व्यक्तित्वहरुसँग पार्टी संगठन पुग्ने विचार राखे ।

रबिन जोशीले संचालन गरेको कार्यक्रममा मुरारी मोहन जोशीको अध्यक्षता रहेको थियो । कार्यक्रममा कामपा १ का वडाध्यक्ष भरतलाल श्रेष्ठ, कामपा ३० का वडाध्यक्ष दल बहादुर कार्की, कार्यपालिका सदस्यहरु मनोज डंगोल, कृष्णमणि भट्टराई, निर्मला पुडासैनी, महानगर सचिव रबिन्द्र श्रेष्ठको सहभागिता थियो भने मैतीदेवी विकास समाजका अध्यक्ष डिबी गुरुङ, स्थानीय समाजसेवी कर्ण घले, बलराम खत्री, रञ्जना मास्के, राधा भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।

  

प्रतिक्रिया दिनुहोस्