एनआरएनएको नवौं  विश्व सम्मेलन तथा महाधिवेशन बारे नवराज रोस्यारको निर्वाचन समिक्षा तथा धन्यवाद ज्ञापन



०२ कात्तिक २०७६, काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा महाधिवेशन काठमाडौंको हायात होटलमा सम्पन्न भएको छ ।

महाधिवेशन निर्वाचनले एनआरएनए अध्यक्षमा कुमार पन्तलाई चुनेको छ भने अधिकांश निर्वाचितहरु पन्त प्यानलकै रहेका छन् ।

लामो समयदेखि एनआरएनए युरोप क्षेत्रमा सक्रिय ब्यक्ति तथा संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा युरोपको प्रतिनिधित्व गर्दै क्षेत्रीय उप–संयोजकमा उम्मेदवारी दिएका नवराज रोस्याराले एनआरएनए निर्वाचनको समिक्षा तथा धन्यवाद ज्ञापन गरेका छन् ।

उनको निर्वाचन समिक्षा तथा धन्यवाद ज्ञापन यसप्रकार रहेको छ ।

आदरणीय गैरआवासीय नेपाली दीदीबहिनी तथा दाजुहरु,

गैरअवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलनका गत केही दिनहरु (१५–१७ अक्टोबर) को यो छोटो सम्मेलनको अवधीभर  धेरै  नै  उतारचढावहरु देखिए । डेलिगेटस् रजिस्ट्रेसनको पट्यारलाग्दो झमेला, उम्मेद्वारहरुको तामझाम र नारा जुलुस सहितको प्रचाशैली, मतदाता किनबेच र पैसाको असीमित चलखेल, सामाजिक संस्थामा भित्रिएको पार्टीगत गुटबन्दी, पूर्वपरीक्षण र तयारी बिना भोटिङ मेसिनको प्रयोग, भोटिङ मेसिनले काम नगरेमा के गर्ने ? भन्ने ब्याकअप प्लान बिना नै निर्वाचन सम्पन्न गर्न खोज्ने निर्वाचन आयोगको दुस्साहस र निर्वाचन आयोगले पटकपटक निर्वाचन स्थगित गरेर देखाएको लाचारीपनले हाम्रो संस्थाको मान मर्यादालाई धरातलमै पुर्याएको अभास सबैले गरे । निर्वाचन स्थल भित्र सिभिल प्रहरी र आवश्यक परेमा ब्याकअपको रुपमा मात्र दंगा प्रहरी परिचालन गरिनुपर्नेमा सबतिर दंगा प्रहरीहरु परिचालन भए । संघका मतदाताहरु निर्वाचनको लाईनमा लागी रहेको बेला होस् या डेलिगेट्सहरु प्राङ्गणमा बसेर कुरा गरी रहेको बेला होस, दंगा प्रहरीहरुले र सेक्युरिटीले देखाएको व्यबहार कदापी सह्य थिएन  । अहिले आएर कुनै अमुक निवर्तमान पदाधिकारीलाई आरोप लाउने भन्दा पनि निवर्तमान अध्यक्ष भवन भट्टज्यूको टिमले यसको नैतिक जिम्मेवारी लिनुपर्दछ र आगामी दिनमा कुनै पनि हिसाबले यसो हुन नदिने कुराको ग्यारेन्टी गरिनुपर्दछ ।

त्यस्तै हामी उम्मेदवारहरुले पनि  निर्वाचन आयोगको कमजोरी र अपूर्ण तयारीको फाईदा उठाउँदै हो–हल्ला गरेर वातावरणलाई झन् उत्तेजित पारी निर्वाचन प्रक्रियालाई नै असफल पार्ने प्रयासहरु गरी रह्यौं । “बिदेशमा हामीले राम्रा कुराहरु सिकेका छौं, सिभिलाइजेसनको पाठ पढेका छौं । त्यसैले हाम्रा कुराहरु नेपालमा पनि सिकाउँदै लागू गराउँछौं ।  “यस्तो मान्यता बोकेका हामी गैरआवासीय नेपालीहरुले क्षणिक आवेगमा आएर “सामाजिक संस्थाको निर्वाचन स्थलमा” हो–हल्ला, नारा जुलुस गर्दा हामी आफैं नागिरहेको थियौं भन्ने कुरातर्फ हाम्रो ध्यान जान सकेन् । उम्मेदवारहरुको प्रचारशैली, उग्रनारा जुलुसले पनि हाम्रो अभद्रतालाई पुष्टी गरिरहेको थियो । हामी सबैलाई थाहा छ । संघको निर्वाचन कसैले कसैमाथी बिजय गर्नलाई गरिएको होइन । यो त केबल “कुन ब्यक्तिलाई यसपाली सामाजिक सेवाको नेतृत्व गर्ने जिम्मा दिने, कुन ब्यत्तिलाई अर्को पटक ?” भन्ने बिषयको टुङ्गो लगाउने प्रक्रिया मात्र हो । तर पनि हरेक उम्मेदवारले अर्को हरेक उम्मेदवारसँग “मिलेर भोट साटासाट गरौ” भन्दै  सम्झौता गर्छ । तर व्यवहारमा आफू मात्र कसरी जित्न सकिन्छ ? भनेर  सबै किसिमका मूल्य मान्यतालाई त्यागेर ट्याक्टिस बनाउँदै  जान्छ । निर्वाचनको दौरान एक उम्मेदवारले अर्को उम्मेदवारसँग गरेको झुटको खेती र सम्झौताको अवलोकन गर्दा प्रष्ट हुन्छ की उस्ले आफ्ना साथी–भाई, सह–यात्री, आफ्नो समाज, देश, संस्कृति सबै बिर्सिरहेको थियो ।

यस्ले अन्तमा राम्रो सक्षम र सबल उम्मेदवारले भन्दा पनि सबैभन्दा बढी चतुर्यायी र सबैभन्दा झुटको खेती गर्न जान्ने र सबैभन्दा बढी पैसा खर्च गरेर आम मतदातालाई किन्न सक्ने क्षमताको ब्यक्तिले मात्र संघको निर्वाचन जित्ने अवस्था हामी उम्मेदवारहरुले आफंै सिर्जना गर्यौं । निर्वाचन सम्पन्न भईसकेपछी अहिलेको अवस्थामा उम्मेदवार बनेकाहरु र निर्वाचनमा उम्मेदवार जिताउन लागेकाहरु बीच कसैको कसैप्रती न त विश्वास छ न त सम्मान र अदारभाव नै । हामी सबै उम्मेदवारहरु र निर्वाचन जिताउन लागेका अग्रणी ब्यक्तिहरु अहिले एक अर्काका शत्रु र कपटी बनेका छौं । एउटा उम्मेदवारले अर्कोलाई मनदेखी नै गाली मात्र गरी रहेका छौं र हामी एक अर्कालाई सरापी मात्र रहेका छौं अहिले ।

जित्नेले खुलेर मैले साँच्चीकै जितेको हो भनेर गर्व गर्न सकेको छैनन् । हार्नेले मेरो पक्षको मत साँच्चिकै कम भएको हो भनेर हार स्विकार गर्न सकेका छैनन् । नितान्त मातृभूमीप्रतीको भावनाले ओतप्रेत भएका आत्माहरुको डोनेसनले चल्ने संस्था हो–गैरअवासीय नेपालीहरुको अभियान । कसैले आफ्नो खल्तीमा पैसा भए पनि त्यत्तिकै फाल्नलाई झिक्दैन । डोनेसन दिने र उठाउने काम तब मात्र गर्न सकिन्छ जब हामी भावनात्मक हुन्छौं र जब हामीलाई डोनेसन लिने संस्थाले केही गर्न खोजेको छ भन्ने अभास हुन्छ ।

तर गैरआवासीय नेपाली संघका पछिल्ला क्रियाकलापहरु कदापी सिर्जनात्मक छैनन्  । हरेक गैरआवासीय नेपालीको कम्तीमा एक डलर भवन निर्माणमा खर्च हुनुपर्छ भन्ने सेन्टिमेन्टल नारा लगएर उठाएको पैसाबाट निर्माणाधिन एनआरएन भवन जग्गा खरिद बिवादमा पर्नु, निर्वाचनको पूर्वसन्ध्यामा आएर संस्था १६–१७ करोडको ऋणमा रहेको कुरा सर्वजनिक हुनुले संस्थाका अर्थिक गतिबिधीहरु पूर्ण पारदर्शी छैनन् भन्ने कुराको पुष्टी गरि रहेको छ । यो अवस्थामा आगामी दिनमा हामी कसरी मिलेर काम गर्न सक्छौ भन्ने ठुलो चुनौती छ र त्यो चुनौतीको अग्लो पहाड जस्तै हाम्रो सामु ठिंग उभिएको छ  ।

यि सबै कुराको बावजुद एनआरएनएका पूर्व अध्यक्षहरु रहेको अध्यक्ष मण्डलले निकै  नै संयमित भएर काम गरेको देखियो । उहाँहरुले चुनाव सम्पन्न नभए संस्थाको अस्तित्व नै खतरामा पर्ने कुरालाई आत्मसात गर्दै रातारात मतपत्र छापेर अर्को दिन मतदान सम्पन्न गराए । मत गणनामा आउने सम्भाबित विवादहरुलाई ध्यानमा राखेर मतगणना अवधीभर आफंै बसेर त्यस्को निरीक्षण गर्ने निर्णय लिए ।

प्रकृतिले आकाशबाट पानी खसालेर निथ्रुक्क भिजाउँदा होस् वा निर्वाचन आयोगले पटकपटक निर्वाचनको कार्यतालिका परिवर्तन गरेर जिस्क्याइरहदा होस्, “म जसरी पनि भोट हालेर मात्र आफ्नो कर्मभूमी फर्किन्छु” भन्ने संघका आम डेलिगेट्सहरुको भित्रैदेखिको प्रतीवद्धता र हो–हल्लाका बाबजुद “भोट हाल्न लाइन बसेर” टसको मस नहुने आम महिला तथा पुरुष डेलिगेट्सहरुको अदम्य शाहसले पनि निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेल्यो र निर्वाचन कमिटीलाई निर्वाचन सम्पन्न गराउन बाध्य तुल्यायो ।

यसरी चुनाव नै नभएर संघ बिघठन तिर  पो लम्किने हो कि भन्ने चिन्ताका बीच हस्त लिखित प्राबिधीको मतदानबाट निर्वाचन सम्पन्न भएर नयाँ नेतृत्व चयन भएको छ । निर्वाचनमा दुःख कष्ट भोगेर पनि प्रत्यक्ष वा परोक्ष रुपमा संघको सदस्यता लिएर डेलिगेट्स छान्न सहयोग पुर्याउने सदस्यज्यूहरु मतदान गर्नुहुने आम गैरअवासीय नेपालीहरु प्रती म धन्यवाद ब्यक्त गर्न चाहन्छु । निर्वाचनमा युरोप उपसंयोजकको जिम्मेवारी पाउनलाई मलाई १४ मत पुगेन  । निर्वाचनमा मलाई मत खसालेर युरोप संयोजक जस्तो महत्वपूर्ण जिम्मेवारी सुम्पिन खोज्नुहुने सबै अत्मीय दीदीबहिनी तथा दाजुभाईहरु र  निर्वाचनको दौरान शुभकामना दिनु हुने प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्नुहुने सबै प्रियजनहरु प्रती हार्दिक अभार तथा धन्यबाद ब्यक्त गर्दछु  । त्यसबाहेक निर्वाचन सम्पन्न गराउनको लागि महत्वपूर्ण भूमिका खेल्नु हुने प्राविधीक पक्षका मित्रहरु, अध्यक्ष मण्डल, निर्वाचन आयोग, प्रहरीहरु, कर्मचारीहरु लगायत सबै आयोजक टिमलाई पनि धन्यवाद ब्यक्त गर्न चाहन्छु ।

अन्त्यमा,
निर्वाचनको माध्यमबाट गैरआवासीय नेपाली संघको जिम्मेवारी पाउनु हुने अध्यक्ष  कुमार पन्त लगायतको सम्पूर्ण टिम अर्ध बधाईको पात्र हुनुहुन्छ  । संघमा हाल बिद्यमान बिकृतीहरु हटाउनुको साथै निर्वाचन पूर्व र बिजयपछी एक पक्षले अर्को पक्षमाथी बिजय हासिल गरेको अभास गराउने किसमका  ब्यक्तिब्यक्तिको पक्षमा देखिने नाराजुलुसहरुलाई बन्देज लगाएर हार्ने र जित्ने सबै पक्ष एक भएर जाने बातावरण बनाउनमा  निर्णायक भूमिका खेल्नु भएमा मात्र यहाँ पूर्ण बधाईको पात्र हुनु हुनेछ । त्यसैले यहाँहरुका पाइलाहरु पूर्ण बधाईको पात्र बन्ने तर्फ लम्कीरहुन भन्ने शुभकामना दिन चाहन्छु ।

नव राज रोस्यारा
उम्मेदवार युरोप उपसंयोजक
पूर्व अध्यक्ष जर्मनी ।

यो पनि पढ्नुहोस्

कुमार पन्त टिममा युरोप उप–संयोजकमा नवराज रोस्यारा

प्रतिक्रिया दिनुहोस्