बम विस्फोट हुँदा ६२ जनाको मृत्यु



०२ कार्तिक २०७६, काठमाडौं

अफगानिस्तानको नंगहार प्रान्तमा शुक्रबार शक्तिशाली बम विस्फोट हुँदा ६२ जनाको ज्यान गएको छ। उक्त विस्फोटमा परी अन्य ३६ जना घाइते भएको अधिकारीहरुले जनाएका छन्।

उक्त प्रान्तको एक मस्जिदमा शुक्रबार नमाजको समयमा विस्फोट भएको थियो। विस्फोटपछि मस्जिदको छत खसेको थियो। यस क्षेत्रमा इस्लामिक स्टेट तथा तालिबान दुवै समूह सक्रिय रहेका छन्। तर, हालसम्म कसैले पनि घटनाको जिम्मेवारी लिएका छैनन्।

अधिकारीहरुले दिउँसो करिब २ बजेको समयमा उक्त घटना भएको बताएका छन्। स्थानीय प्रशासनका प्रवक्ता अताउल्लाह खोगयानीले मस्जिदमा आत्मघाती आक्रमण भएको या अन्य रुपको विस्फोट भएको खुल्न नसकेको बताएका छन्।

यो विस्फोट संयुक्त राष्ट्रसंघको एक रिपोर्ट आएलगत्तै भएको छ। उक्त रिपोर्टमा अफगानिस्तानमा सर्वसाधारणहरुको मृत्युको संख्या बढेको उल्लेख छ। रिपोर्टमा जुलाईदेखि सेप्टेम्बरसम्म १,१७४ नागरिक मारिएको बताइएको छ। जसमा पनि जुलाई महिना सन् २०१९ को सबैभन्दा बढी हत्या भएको महिनाका रुपमा उल्लेख गरिएको छ।

उक्त रिपोर्टमा सन् २०१९ मा मात्र अफगानिस्तानमा २,५६३ जनाको मृत्यु भइसकेको र ५,६७६ घाइते भएको जनाइएको छ। सन् २०१८ को तुलनामा सन् २०१९ को यस अवधिमा अफगानिस्तानमा हिंसाद्वारा प्रभावित हुने नागरिकको संख्या २६ प्रतिशतले बढेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्