अपरेसनपछि घाउको स्याहार गर्ने तरिका



३० असोज २०७६, काठमाडौं

शरिरको कुनै पनि भागको अपरेसन गरेपछि बन्ने घाउको स्याहार गर्नु एकदमै जरुरी हुन्छ। जुन घाउको राम्रासँग हेरविचार नगरेमा घाउ पाक्ने, संक्रमित हुने, ढिलो जोडिने इत्यादि समस्याहरु देखिन सक्ने सम्भावना हुन्छ।

कहिले गर्ने ड्रेसिङ्?

सामान्यतयाः घाउको प्रकृति हेरेर त्यसको ड्रेसिङ्ग कहिले गर्ने भनेर तोकिएको हुन्छ।

संक्रमित र फोहोर घाउहरु छन् भने त्यसलाई दैनिक रुपमा सफा गरिरहनुपर्ने आवश्यक पनि हुन्छ। अपरेसनबाट बनेको घाउलाई भने केहि दिन बिराएर पनि ड्रेसिङ्ग गर्न सकिने चिकित्सकहरुको भनाई छ।

यी कुराहरु बिरामी भर्ना भएको अस्पतालको प्रोटोकल र उपचार गर्ने चिकित्सकहरुले गर्ने घाउको जाँचहरुमा पनि भर पर्छ।

कहिले खोल्ने टाँका?

टाँका कहिले खोल्ने भन्ने कुरा घाउको अवस्था, रहेको भाग र सिलाउनको निम्ती के प्रयोग गरिएको छ इत्यादि कुराहरुमा भर पर्दछ।

सामान्यतयाः अनुहार, पेट आदिको अप्रेसनमा लगाएको टाँका ७ देखि १० दिनमा निकाल्न सकिन्छ भने, हात वा खुट्टाको चाहिँ २ हप्तासम्म लाग्न सक्छ। हात खुट्टाको तुलनामा अनुहारमा रक्तसञ्चार बढी हुने भएकाले घाउँ चाडो निको हुने गर्छ र टाँका चाडो निकाल्न सकिन्छ।

यसमा पनि अस्पताल र चिकित्सक अनुसार र घाउको अवस्था हेरेर टाँका खोल्ने वा नखोल्ने निर्णय लिनुपर्ने हुँदा, सम्बन्धित चिकित्सकको सल्लाह र घाउको अवस्थाको राम्रो पहिचान गरेर मात्र टाँका खोल्नु बुद्धिमानी हुन्छ।

घाउको टाँका खोलेपछि भने ड्रेसिङ्ग गरिरहनुपर्ने जरुरी हुँदैन तर घाउको सरसफाईमा भने विशेष ध्यान पुर्याउनैपर्छ।

सावधानी अपनाउने?

मधुमेह, एच आई भी एड्स, क्यान्सर लगायत अन्य रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीहरुमा भने घाउ जोडिने वा पहिलेको अवस्थामा आउन समय लाग्ने गर्छ।

यी बिरामीहरुले घाउको सरसफाई र हेरचाहमा थप ध्यान पुराउनुपर्ने हुन्छ। धुम्रपान गर्नेहरुमा पनि घाउ सन्चो हुन धेरै समय लाग्ने गर्दछ।

अस्पताल जाने समयः

–घाउबाट पानी वा पिप बगेमा

–लामो समयसम्म पनि घाउ नजोडिएमा

अपरेसन गरेको केहि दिनभित्र ज्वरो आउने, काम्ने भएमा केहि भ्रमः अप्रेसन गरेपछि गेडागुडी, माछामासु खायो भने घाउ पाक्छ भन्ने भ्रम धेरै मानिसहरुमा रहेको हुन्छ।

तर खानेकुरासँग घाउ पाक्ने वा नपाक्ने त्यस्तो कुनै सम्बन्ध हुँदैन। घाउको संक्रमण र पाक्ने भन्ने कुरा घाउको सरसफाई र हेरचाहमा भर पर्ने गर्दछ। साथसाथै घाउ चाँडो सन्चो हुन प्रोटिनयुक्त खानेकुराहरु जस्तैः गेडागुडी, माछामासु, अण्डा इत्यादि मात्रामा खानुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्