मतदाताहरुलाई अध्यक्षका प्रत्यासी कुमार पन्तको अपिल



२९ असोज २०७६, काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९औं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षका प्रत्यासी कुमार पन्तले सबै मतदाताहरुलाई आफू र आफ्नो टिमलाई मतदान जिताउन अपिल गर्दै सबै प्रवासीलाई एनआरएनमा जोड्ने प्रतिबद्धता गरेका छन् ।

कुमार पन्तको अपिल जस्ताको त्यस्तै :

आदरणीय गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौँ विश्व सम्मेलनमा भाग लिन आउनुहुने प्रतिनिधि तथा पर्यवेक्षकज्यूहरू, अग्रज, दिदी बहिनी तथा दाजुभाइहरु,

नमस्कार ।

आज हामी एनआरएनए आईसीसीको निर्वाचनको संघारमा छौँ । नेतृत्व चयन प्रकृयामा मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको कुरा यहाँहरु सबैलाई अवगत नै छ । गैरआवासीय नेपालीहरुको हक, हित र समृद्धिको लागि सदैव तत्पर रही विगत १६ वर्षदेखि यो अभियानमा संलग्न छु । विश्वका सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी सक्षम सामाजिक अभियन्ताहरुलाई समेट्दै संघको नेतृत्व चयन गर्ने कुरामा र संघलाई राजनीतिबाट मुक्त एउटा विशुद्ध सामाजिक संस्थाको रुपमा स्थापना गर्ने कुरामा प्रतिबद्ध छु । हालको हाम्रो संजाललाई आधुनिकीकरण गर्दै सूचना प्रविधिको प्रयोग गरी विश्वव्यापी रुपमा सबै सदस्यहरुले अनलाइन भोट दिने व्यवस्था र सबै गैरआवासीय नेपालीहरुलाई एनआरएनएको सदस्य बनाउनको लागि नि:शुल्क सदस्यताको अवधारणा स्थापित गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

अन्त्यमा, गैरआवासीय नेपालीहरुको यो एतिहासिक क्षणमा मेरो अध्यक्षको उम्मेदवारीलाई अनुमोदन गरी दिन हुन विनम्र अनुरोध गर्दछु । साथै एनआरएनए अभियानको मर्म बुझेका सक्षम, योग्य र परदेशमा रहेर पनि आफ्नो अमूल्य समय संघलाई दिन सक्ने सिर्जनात्मक विचार बोकेका उम्मेदवारहरुलाई आगामी कार्यकालको जिम्मेवारी दिन हुन विनम्र अनुरोध गर्दछु ।

विश्व सम्मेलनमा यहाँहरूको सहभागिताका लागि धन्यवाद दिँदै यहाँहरुको काठमाडौँ बसाइँ सुखमय रहोस् भन्ने कामना गर्दछु ।

जय एनआरएन ।
कुमार पन्त
अध्यक्षको उम्मेदवार
गैरआवासीय नेपाली संघ
अन्तर्राष्ट्रिय समन्वय परिषद् ।

प्रतिक्रिया दिनुहोस्