एनआरएनएको नवौँ विश्व नेपाली सम्मेलनमा राष्ट्रपतिद्वारा नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन आव्हान



२८ असोज २०७६, काठमाडौं

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा सक्रिय योगदान गर्न गैरआवासीय नेपालीलाई आव्हान  गर्दै ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन आव्हान गरेकी छिन् ।

पूर्वाधार निर्माण, शैक्षिक उन्नयन, उर्जा, पर्यटन लगायतको क्षेत्रमा एनारएनएले गरेको सहयोगको प्रशंसा गर्दै निरन्तरताको लागि आग्रह गरिन् ।

देशभित्र र देशबाहिर रहेका हामी नेपाली एउटै परिवारका परिवारिक सदस्य रहेको भन्दै उनले हरेक दुई बर्षमा हुने सम्मेलन पारिवारिक मिलनको समेत माध्यम बनेको बताईन् ।

राष्ट्रपति भण्डारीले आ–आफ्नो जीवनयात्रा, वाध्यता र परिस्थितिले संसारको जोसुकै कुनामा छरिएर रहेका भएपनि सबै नेपाली एकै परिवार भएको उल्लेख गर्दै विश्व शान्तिका अग्रदूतको पवित्र जन्मभूमिसँग गहिरो सम्बन्ध भएका गैरआवासीय नेपालीहरुले सहिष्णुता, करुणा, मैत्रीको सन्देशलाई बलियोसँग आत्मसाथ गर्दै विश्वमा सद्भावना दूतको रुपमा प्रस्तुत हुन आग्रह गरिन् ।

सरकारले संसारभर छरिएर रहेका नेपालीको ज्ञान, सीप र क्षमतालाई स्वदेशमै उपयोग गर्ने उद्देश्यले बौद्धिक पलायनलाई रोक्ने अवधारणसहित संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्दै नैपाल अहिले आर्थिक सामाजिक विकासकौ युगान्तकारी चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै राजनीतिक स्थायित्व, दिगो शान्ति र स्थिरता कायम भएको परिवेष्टमा नेपाल सरकार आर्थिक विकासलाई तीब्रता दिन गैरआवासीय नेपालीहरुको ज्ञान, सिप, अनुभव र साधन स्रोत नेपालको विकासमा खर्चिन आग्रह गरिन् ।

कार्यक्रमको सभाध्यक्षको रुपमा आफ्नो धारणा राख्दै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विपतमा सहयोग, सुख दु:खको साथी, लगानी सम्मेलनको सहकार्य र नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याईरहेको गैरआवासीय नेपाली संघले गरेको अनुरोधको आधारमा ब्रेन गेन सेन्टर परराष्ट्र मन्त्रालयले गठन गरिसकेको जानकारी दिदैं त्यसमा आबद्ध हुन सबैलाई अनुरोध गरे ।

राजनीतिक अस्थिरता र द्वन्दमा रुमलिएको नेपाल राजनीतिक स्थिरता शान्तिमा योगदान, द्वन्द व्यवस्थापनमा उत्कृष्ट बन्दै आर्थिक समृद्धिको अभियानमा लागेकोेले त्यसलाई सहयोग गर्न प्रवासी नेपालीहरुको ज्ञान, अनुभव र स्रोत नेपाल सरकारले अपेक्षा गरेको बताए ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष शेष घलेले कानुनी झन्झटको बिच गैरआवासीय नेपालीहरुले नेपालमा लगानी गरेको जानकारी गराउँदै गैरआवासीय नागरिकता तुरुन्त वितरण गर्न अनुरोध गरे । साथै गैरआवासीय नेपालीहरुको सम्पर्क र संजाललाई प्रयोग गरी विदेशी लगानी भित्र्याउन सकिएमा ‘समृद्ध नेपाल : सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा हुने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले महासंघले संघको स्थापना र व्यवस्थापनमा लामो समय योगदान पुर्‍याएको चर्चा गर्दै आगामी दिनमा पनि संघसँग सहकार्य गर्न महासंघ तयार रहेको बताईन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले दुई बर्षे कार्यकालमा गरेका मुख्य उपलब्धीको रुपमा एकीकृत लाप्राक बस्ती निर्माण सम्पन्न, एनआरएनएको केन्द्रीय सचिवालय भवन निर्माण, काठमाडौंको शंखपार्क निर्माण तथा हस्तान्तरण, सिन्धुली गढी गुरुयोजना निर्माण तथा हस्तान्तरण गरेको बताए ।

माईतीघर मण्डलामा फहराईएको नेपाली राष्ट्रिय झण्डामा ठूलो लगानी नभएपनि आत्मीएता र भावना जोडिएको भन्दै ‘समृद्ध नेपाल : सुखी नेपाली’को राष्ट्रिय आकांक्षा र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आगामी नेतृत्वले विशेष पहल गर्नुपर्ने बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा वैदिक परम्परा अनुसार काम सफल होस भनी गणेश बन्दनाको साँस्कृतिक प्रस्तुती समेत देखाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्