सुँगुरको मासु खाएका एक कैदीको उपचारको क्रममा मृत्यु



२७ असोज २०७६, काठमाडौं

सुँगुरको मासु खाएर गम्भीर बिरामी भई उपचारको क्रममा जिल्ला कारागार पाँचथरका आईताबार राती मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको फालेलुङ गाउँपालिका–७ सिदिनका सुन्दर राई रहेका छन्। उनको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

राईसँगै सुँगुरको मासु खाएर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। यसअघि गत असोज १९ गते दशैँको समयमा सुगरको पित्त र कलेजो पकाएर खाएका दुई जनाको मृत्यु भइसकेको छ।

फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षीय बुद्धि केरुङको गत असोज २० गते दिउँसो उपचारको क्रममा मृत्यु भएको र फिदिम नगरपालिका–१०, याङनामका ३४ वर्षका जयप्रकाश जवेगुको उपचारका लागि झापातर्फ लाँदै गर्दा बाटोमै २० गते राति मृत्यु भएको थियो।

मासु खाएर बिरामी भएका चार जनामध्ये अहिले एक जनाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको छ। जिल्लाको कुम्मायक गाउँपालिका ३ का दिनेश खजुमको उपचार भइरहेको प्रहरीले जानकारी दिए।

जिल्ला कारागार पाँचथरका सूचना अधिकारी विमल ढुङ्गानाका अनुसार दशैँ मनाउन कारागारभित्र तीन वटा सुँगुर काटेको र त्यसको पित्त र कलेजो चार जनाले पकाएर खाएपछि उनीहरु बिरामी परेका हुन्। मासुमात्र खाने अरु बिरामी नपरेको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्