किमोथेरापी र रेडियोथेरापी गर्ने बिरामीले यस्तो खानपान गर्नुहोस्



२६ असोज २०७६, काठमाडौं

किमोथेरापी र रेडियोथेरापी गर्ने बिरामीले विभिन्न समस्या खेप्नुपर्ने हुन्छ।

बिरामीले आहार–विहारमा परहेज गर्नुपर्ने त छँदै छ, खाने क्रममा पनि उत्तिकै हैरानी बेहोर्नुपर्ने हुन्छ। भोक नलाग्ने, मुखमा बिमिरा आउने, खाना निल्न गाह्रो हुने, पोलेको महसुस हुने, खानाको स्वाद नै बद्लिए जस्तो लाग्ने, गन्ध आउने इत्यादि हुन्छ।

जुन समस्या आउन नदिन बिरामीले विशेष रुपमा बनाइएको खाना विशेष तरिकाले खानुपर्ने हुन्छ। ताजा तथा पौष्टिक खानेकुरामा ध्यान दिनका साथै यी निम्न कुराहरु पनि जान्नुहोस्ः

–सामान्यतयाः नेपाली समाजमा दिनको ३ पटक भोजन गर्ने हाम्रो चलन छ। तर, किमोथेरापी र रेडियोथेरापी गरेका बिरामीले यसो नगरी दैनिक ७–८ पटक थोर–थोरै भोजन गर्ने गर्नुहोस्।

–खाना बनाउने तरकारी, दाल जस्ता सामग्री तथा फलफूल ताजा र स्वच्छ भने हुनैपर्छ।

–खाना चपाउन र निल्न गाह्रो भएको समयमा खानालाई बढी समय पकाएर नरम बनाएर खानुहोस्।

–सधैँ उमालेको र स्वच्छ पानी मात्र पिउनुहोस्।

–खाना बनाउँदा प्रयोग गरिने भाँडाहरु राम्रोसँग धुनुहोस्।

–दैनिक २/३ लिटर तरल पदार्थ सेवन गर्नुहोस्। पानी, मिल्कसेक, नरिवल पानी लगायत बढी मात्रामा सेवन गर्नुहोस्।

–पोषणयुक्त पाउडर सधैं खाली पेटमा खान जोड दिनुहोस्। रुटिन नै बनाएर बिहान ७ बजे, ११ बजे र साँझ ५ बजे खाने बानी गर्नुहोस्।

–घर बाहिर (होटल, क्यान्टिन, स्ट्रिट फुड) बनाएका खानेकुरा सकेसम्म नखानुहोस्।

–पिरो र धेरै मसलादार खानेकुरा खानुहुँदैन।

–अचार, पापड, अमिलो दहीका साथै लेज, कुरकुरे, वेफर जस्ता प्याकेटमा बन्द भएका स्न्याक्स नखानुहोस्।

–सलाद, पातलो बोक्रा भएका फलहरु केरा, मौसम, सुन्तला, अनार, खरबुजा आदि खाँदा हुन्छ।

–बिरामीका साथै परिवारका अन्य सदस्यले सरसफाइमा विशेष ध्यान दिने र आफ्नो वरिपरिको स्वच्छतामा पनि ध्यान दिने गर्नुहोस्।

–बिरामीसँग भेट्न आउने आफन्तहरुलाई निश्चित दूरीमा राख्नुहोस्।

प्रतिक्रिया दिनुहोस्