नेपाली काङ्ग्रेसका सांसद आलम रौतहटबाट पक्राउ



२६ असोज २०७६, काठमाडौं

रौतहट क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसबाट निर्वाचित संघीय सांसद मोहम्मद अफ्ताव आलम बम बिस्फोट तथा इट्टाभट्टामा हाली २१ जनाको हत्या गरेको अभियोगमा (आज) आइतबार पक्राउ परेका छन्।

पहिलो संविधानसभा चुनाव अघि २०६४ सालमा २१ जनाको ज्यान जाने गरी भएको बम विस्फोटनको आरोप लागे पनि सांसद आलममाथि मुद्दा चलाउन प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्न निर्देशन दिँदै मिसिल प्रहरीलाई फिर्ता पठाएको थियो।

सरकारी वकिलको कार्यालयले थप अनुसन्धानका लागि निर्देशन दिए पनि राजनीतिक पहुँचका कारण उनले प्रहरीलाई आफूविरुद्ध अनुसन्धान अगाडि बढाउन दिएका थिएनन्।

पहिलो संविधानसभा निर्वाचनमा राजपुर फरहदवास्थित आलमको निवासमा बम बनाउँदै गर्दा पड्किएर २१ जनाको मत्यु भएको थियो। त्यतिबेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्ण सिटौला थिए।

मृत्यु भएका भनिएका मध्ये दुईजना नेपाली र बाँकी १९ जना भारतीय थिए। आलमको निर्देशनमा घाइते भएकालाई इँट्टा पोल्ने भट्टीमा हालेर मारिएको आरोप उनीमाथि लाग्दै आएको छ।

उनले चुनाव जित्ने उद्देश्यले बम बनाउनका लागि भारतबाट ती व्यक्ति झिकाएका थिए। मुद्दा कमजोर बनाएपश्चात र थप अनुसन्धान अगाडि नबढेपछि मृतकका परिवारले २०६५ र २०६९ सालमा अनुसन्धान आदेशको माग सर्वोच्च अदालदतमा रिट दायर गरेका थिए।

दुवैपटक सर्वोच्चले घटनाको निष्पक्ष छानबिन गर्न आदेश दिए पनि अघि बढ्न नसेकपछि फेरि मृतकका आफन्तले अदालतको अवहेलना भएको भन्दै रौतहट जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालयविरुद्ध केही महिनाअअघि मुद्दा अवहेलना मुद्दा दायर गरेका थिए।

अवहेलना मुद्दामाथि सुनुवाई गर्दै सर्वोच्चले २०७६ असार ६ गते अहिलेसम्म अनुसन्धानमा भएको प्रगति ३० दिनभित्र जानकारी गराउन र घटनाको थप अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो।

सर्वोच्चले आदेश दिए पनि बहालवाला सांसद उच्च राजनीतिक पहुँचका कारण आलमलाई पक्राउ गर्न प्रहरीले आँट गर्न सकेको थिएन। तर बलात्कार अभियोगमा सभामुख कृष्णबहादुर महरालाई नै पक्राउ गरेर मनोबल उच्च बनाएको प्रहरीले आलमलाई आइतबार बिहान रौतहटबाट नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस्