
१९ असोज २०७६, काठमाडौं
कृषि उत्पादन बृद्धि गर्न स्वच्छ बगैँचा स्वच्छ घर, स्मार्ट तरकारी उत्पादन, आधुनिक कृषि प्रविधि बिस्तार तथा प्राविधिक सहयोगले बढी प्रभाव पार्ने गर्दछ । विशेषगरी कृषकलाई प्राविधिक सहयोग दिन सकियो भने बढी लाभ लिन सकिने भएकोले त्यसतर्फ बढी ध्यान दिनुपर्ने सरोकारवालाहरुको भनाई छ ।
प्रविधिको अभावमा धेरै मेहनत गरेर थोरै उत्पादन लिन कृषक बाध्य भएको सन्दर्भमा उपरोक्त कार्यक्रम र प्रविधिको उपयोग गरे कृषक बढी लाभान्वित हुन सक्नेछन् ।
सोही अनुरुप ललितपुरको नखिबोटमा रहेको नेपाल एग्रो लाइभले कृषिका आधुनिक प्रविधि गाउँगाउँमा पुर्याउँदै आएको छ । उच्चतम् प्रविधिको प्रयोग गरी थोरै लगानीमा धेरै उत्पादन गर्न कृषकलाई सहयोग गर्दै आएको छ ।
एग्रो लाइभका प्रमुख कार्यकारी अधिकृत राजन गैरेका अनुसार संस्थाले स्वच्छ बगैँचा स्वच्छ घर, स्मार्ट तरकारी उत्पादन, आधुनिक कृषि प्रविधि बिस्तार तथा प्राविधिक सहयोग गर्दै आएको छ । “ कृषि उत्पादन बढाउन कृषिका विभिन्न उद्यानको नक्साङ्कन र विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने काम पनि गर्दै आएका छौ,” उहाँले भन्नुभयो ।
थोपा सिँचाइ, छाप्रो प्रविधि, टनेल प्रविधि जस्ता आधुनिक प्रविधिका बारेमा कृषकलाई ज्ञानसमेत संस्थाले दिँदै आएको छ । आधुनिक यन्त्र विदेशबाट झिकाएर कृषकसम्म पुर्याउने काम पनि गर्दछ । विसं २०७३ मा स्थापना भएको यस संस्थाले हालसम्म एक लाखभन्दा बढी कृषकलाई प्राविधिक सहयोग गरेको जनाएको छ । संस्थाले सरकारी र गैरसरकारी संस्थासँग समन्वय गरी प्रविधि कृषककोमा पुर्याउँदै आएको छ ।





