सबै नेपालीलाई जुत्ताको माला लगाउन आग्रह!(भिडियो सहित)



१६ असोज २०७६, काठमाडौं

विवेकशील नेपाली दलका केन्द्रीय सदस्य शशीविक्रम कार्कीले आफ्नो अनुहारमा कालोमासो दल्नुका साथै घाँटीमा जुत्ताको माला लगाएका छन्।

उनले आफूले आफैलाई प्रश्न गर्दै जुत्ताको माला लगाएको बताएका छन्। उनले समग्र नेपालीलाई पनि आफ्नो अनुहारमा कालो पोतेर जुत्ताको माला लगाउन आग्रह गरेका छन्।

“हामीले यो देशमा राजतन्त्र हटायौं। किन हटायौं? किनकि राजाहरु नागरिक भन्दा माथि हुन्थे। अबको समयमा कोही पनि निश्चित परिवारमा जन्मेकै आधारमा माथि र तल हुनु हुन्न।” उनले फेसबुकमार्फत सार्वजनिक गरेको भिडियोमा भनेका छन्, “लोकतन्त्र ल्यायौं। कानुनको नजरमा सबैको हैसियत समान हुन्छ। कानुनले सबैलाई समान व्यवहार गर्छ भनेरै लोकतन्त्र ल्यायौं।”

कार्कीले प्रश्न उठाउँदै भनेका छन्, “कानुन समान छैन। कोही व्यक्तिका लागि प्रहरी प्रशासन सक्रिय हुन्छ। अर्को व्यक्तिलाई अत्यन्तै गम्भीर आरोप लाग्छ। सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लाग्छ। महिलाले भिडियोमा आफूलाई यौन शोषण भएको कुरा राख्छिन्। तर प्रहरी प्रशासन मौन बस्छ।”

उनले महरा र रोशनी शाहीको करालाई जोड्दै भनेका छन्, “समाचार चारैतिर फैलिन्छ। देशका उच्च तहका नेताहरुले भिडियो फुटेज हेरेर महरा त्यहाँ पुगेको निष्कर्ष निकाल्छन्। तर भोलिपल्ट महिलाले यौन दूराचार भएको छैन भनेर अभिव्यक्ति दिन्छिन्।”

केन्द्रीय सदस्य कार्कीले अब यो विषय पीडित महिला र आरोपीबीचमात्रै रहन्छ र? भन्दै प्रश्न गरेका छन्।

सदस्य कार्कीको पूरा भिडियो हेर्नुस्ः

प्रतिक्रिया दिनुहोस्