दर्शनले के काम गर्छ ? यो किन र यसको के महत्व छ ? (दर्शन परिचर्चा भाग–४)



१५ असोज २०७६, काठमाडौं

हामीले जुन दर्शनको चर्चा गरिरहेका छौँ, यो दर्शनले के काम गर्छ ? र किन दर्शन चाहिन्छ ? यसको के महत्व छ भन्ने कुरा स्वभाविक रुपमा जोडिन आउँछ । दर्शन नभए पनि त बाचिन्छ नि भन्ने मानिसहरु पनि छन् । तर धेरै विद्वानहरु, दर्शनशास्त्रीहरुको भनाई के छ भने हरेक मानिस दार्शनिक हुन्छन् । भन्न त मान्छेले दर्शन बिना पनि बाचिन्छ भन्छन् तर यर्थातमा उनीहरुको भनाईमा नै दर्शन रहेको हुन्छ ।

किनभने मान्छेको दृष्टिकोण निर्माण गरिदिने दर्शनले नै हो । त्यो तर्क गर्ने मान्छेसँग पनि एउटा दृष्टिकोण हुन्छ । त्यो दृष्टिकोणको निर्माण दर्शनले गर्छ । त्यो दृष्टिकोण दार्शनिक दृष्टिकोण हो । उसले आफ्नो बारेमा र जगत वरिपरिको बारेमा जे सोचिरहेको हुन्छ, विश्वब्रम्हाण्डको बारेमा जे धारणा बनाइरहेको हुन्छ त्यो नै दर्शन हो । त्यसैकारण दर्शन चाहिदैन भन्ने कुरा गतल हो । यदि संसारलाई सहि तरिकाले बुझ्ने हो भने त्यसका निम्ति दर्शन चाहिन्छ । त्यसकारण दर्शनको पहिलो काम भनेको मानिसको दृष्टिकोण निर्माण गर्ने हो ।

यसले जीवन र जगतलाई बुझ्न सिकाउँछ । हाम्रो जीवन के हो ? हाम्रो वरिपरिको जगत के हो ? यो कसरी बन्यो र कसरी चल्छ ? भोलि के हुन्छ ? भन्ने जस्ता प्रश्नहरुको जवाफ दिन्छ दर्शनले । यो दर्शनको महत्वपूर्ण काम हो । दर्शनले प्रकृति र मानव बिचको सम्बन्धबारे अध्ययन गराउँछ । प्रकृति के हो ? प्रकृतिमा मानिसको स्थान के छ ? प्रकृतिसँगको मान्छेको सम्बन्ध के हो ? भन्ने जस्ता विषयहरुमा दर्शनले सहयोग गर्छ । दर्शनले वस्तु र चिन्तनको बिचमा के सम्बन्ध छ ? भन्ने  विषयमा पनि बोध गराउँछ । पदार्थ भन्दा चेतना स्वतन्त्र हो की, शरीर र चेतना अलगअलग चिज हो की होइन ? शरीरभन्दा बाहिर कसैले चिन्तन गर्न सक्छ कि सक्दैन ? मस्तिष्कभन्दा बाहिर चिन्तनको काम हुन सक्छ कि सक्दैन ?

एकथरी मान्छेहरु चेतना स्वतन्त्र हुन्छन् पनि भन्छन् । तर पछिल्लो विज्ञानले के कुरा स्थापित गरेको छ भने मस्तिष्क बेगर मस्तिष्कको क्रिया हुन सक्दैन । चेतना भनेको मस्तिष्कको क्रिया हो । त्यसैकारण पदार्थ र चेतनाको बिचमा घनिष्ठ अन्तरसम्बन्ध छ । यसरी दर्शनले प्रकृति र मानवको बिचमा के सम्बन्ध छ ? प्रकृति र चेतनाको बिचमा या पदार्थ र चेतनाको बिचमा के सम्बन्ध छ ? भन्नेजस्ता विषयहरुमा जानकारी गराउँछ ।

हामी अस्तित्वमा नआईकन हाम्रो चिन्तनको विकास हुन्छ कि हुँदैन ? भन्ने प्रश्नको जवाफ यसले खोज्छ । त्यसैकारण यसको महत्व छ । दर्शनले जीवनशैली पनि निर्धारण गरिदिन्छ । दर्शनले कस्तो जीवन बाँच्ने भन्ने कुरा सिकाउँछ । एउटा अलौकिक शक्तिलाई विश्वास गर्ने, अलौकिक शक्तिप्रति आस्था राख्ने त्यो दर्शन अगांलेको व्यक्तिको जीवन र भौतिक शक्तिमा आस्था राख्ने व्यक्तिको जीवनको बिचमा भिन्नता हुन्छ । किन भिन्नता हुन्छ भने त्यो दर्शनले उसको जीवनशैली निर्धारण गरिदिएको हुन्छ ।

हरेक दर्शनमा यो खालको दर्शन अगांलेका व्यक्तिले कस्तो खालको आचार व्यवहार गर्ने भन्ने कुरा हुन्छ ।  दर्शनले कुनै मानिसले बिताइरहेको जीवन परिवर्तन गर्नमा पनि सहयोग गर्छ । आफूलाई कुन दर्शन ठिक लाग्छ हामी त्यसैमा लाग्न सक्छौँ । नबुझी कुनैपनि खालको गतिविधी गर्नुभन्दा बुझेर गर्नु राम्रो हो । त्यसैकारण दर्शनको अध्ययन गर्ने, दर्शनमा छलफल गर्ने गर्न सकियो भने राम्रो हुन्छ । दर्शनले समाजलाई बुझ्न पनि सिकाउँछ । त्यसैकारण दर्शन र यसका कामहरु महत्वपूर्ण छन् ।

यो पनि पढ्नुहोस्

दर्शन के हो ? (दर्शन परिचर्चा भाग–१)

दर्शनको प्रारम्भ कसरी भयो ? (दर्शन परिचर्चा भाग–२)

दर्शनका आधार के हुन् ? (दर्शन परिचर्चा भाग–३)

प्रतिक्रिया दिनुहोस्