गणतन्त्र स्थापनामा मिडियाको ठूलो भूमिका छ: सांसद राई



१४ असोज २०७६, काठमाडौं

सोलुखुम्बु जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सांसद हेमकुमार राई(सुरवीर)ले गणतन्त्र स्थापनामा मिडियाको ठूलो भूमिका रहेको बताएका छन्।

मंगलबार ‘सोलुखुम्बु–काठमाडौं पत्रकार समाज’द्वारा काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राईले सामाजिक रुपान्तरण तथा गणतन्त्र स्थापनामा मिडियाको ठूलो भूमिका रहेको बताएका हुन्।

“मिडिया सामाजिक रुपान्तरणको संवाहक हो। मिडियाले गणतन्त्र स्थापनामा ठूलो भूमिका खेलेको छ।”सांसद राईले भने, “यो प्रविधिको युगमा मानिसको जीवन मिडियाबिना झनै अपूर्ण छ।”

मिडिया(संचार)राज्यको चौंथो अंग भएको र अहिलेको नयाँ युगमा मिडियाको झनै ठूलो भूमिका रहेको औंल्याउँदै उनले पत्रकारहरुले समाचार सम्प्रेषणमा सकारात्मक अभ्यास गर्नुपर्ने बताए।

पछिल्लो समय नेपालको समाचार संस्थाहरुमा समाचार बङ्ग्याउने अभ्यासप्रति खेद व्यक्त गर्दै सांसद राईले यस्तो अभ्यास नगर्नसमेत सम्पूर्ण संचार गृहलाई आग्रह गरे।

यस्तै उनले ‘सोलुखुम्बु–काठमाडौं पत्रकार समाज’लाई आफूले सबै तवरबाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाए।

कार्यक्रममा सोलुखुम्बुबाट राजधानी आइ विभिन्न संचार संस्थासँग जोडिएर काम गरिरहेका व्यवसायिक पत्रकार तथ संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्