चीनमा पूर्वमेयरको घरबाट १३.५ टन सुन बरामद, फासीको सजाय हुने आँकलन !



१३ असोज २०७६, काठमाडौं

चीनमा हालै दानझौ सहरका पूर्वमेयर ज्याङ कुईका घरबाट १३.५ टन सुन बरामद भएको छ ।

चिनियाँ प्रहरीले उनको घरमा छापा मार्दा ठूलो परिमाणमा सुन बरामद गरेपछि ज्याङलाई पक्राउ गरी लगेको छ । प्रहरीले ज्याङको घरबाट बरामद सुन पनि जफत गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पूर्वमेयर ज्याङको घरको बेसमेन्टमा लुकाएर राखेको अवस्थामा १३.५ टन सुन बरामद भएको हो । बरामद सुन इँटा आकारमा हजारौँ टुक्रा थिए ।

पूर्वमेयर ज्याङको घर हजारौँ वर्गमिटरमा फैलिएको छ । त्यहाँ अवैध रुपमा सुन लुकाएर राखिएको थाहा पाएपछि प्रहरी छापा मार्न पुगेको थियो । शुरुमा यत्रो परिमाणमा सुन देख्दा चिनियाँ प्रहरी आफैँ छक्क पनि परे ।

चीनमा भ्रष्टाचारलाई लिएर शून्य सहनशीलता तथा कडा नियम बनाइएको छ । तर पनि बेलाबेलामा ठूला भ्रष्टाचारका घटना बाहिर आइरहन्छन् । ठूलो परिमाणमा सुन भेटिएपछि भ्रष्टाचार मुद्दामा पूर्वमेयर ज्याङलाई फासीको सजाय हुन सक्ने आँकलन गर्न थालिएको छ । –एजेन्सी

प्रतिक्रिया दिनुहोस्