खोकीको औषधी चक्लेटः एक बेलायती रिपोर्ट



१३ असोज २०७६, काठमाडौं

बद्लिदो मौसमसँगै मानिस अनेकौं रोगको संक्रमित बनिरहेका हुन्छन्।

अधिकांश मानिसमा यस रोगको संक्रमणका कारण घाँटी सुख्खा हुने, चिलाउने, खसखस हुने, जस्ता समस्या देखा पर्ने चिकित्सकहरुको भनाई छ।

घाँँटीमा संक्रमण भएसंगै लाग्ने खोकीलाई साधारण रुपमा लिएपनि यसले मानिसको दैनिक जीवनमा निकै असहज र काममा समेत अवरोध पुर्याउने गर्दछ।

लगातार खोकिरहँदा घाँटी, छाती, पेट तथा भित्री अङ्गहरुमा समेत दुखाइ बढ्दै जान्छ र औषधि खाँदासमेत धेरै दिनसम्म खोकी निको हुन निकै समय लाग्न सक्छ।

यसपश्चात बेलायती चिकित्सकहरुको गहिरो अनुसन्धानपछि बिरामीलाई खोकीको औषधिभन्दा पनि चकलेट खाए चाँडो ठीक हुने सुझाव दिने गरेका छन्। अन्य डार्क चकलेट भन्दा पनि दूधले बनेका ‘मिल्क चकलेट’ यसमा बढी प्रभावकारी हुने देखिएको छ।

हालै १६३ बिरामीमा गरिएको एक अनुसन्धानपश्चात चकलेटमा पाइने कोकोले दुई दिनमै बिरामीको खोकीमा निकै ठूलो सुधार ल्याएको पत्ता लगाएका छन्।

अनुसन्धानपछि युनिभर्सिटी अफ हलका प्रोफेसरले चकलेटले वास्तवमै खोकी कम गराउन सक्ने दाबीसमेत गरेका छन्। कोकोमा हुने ‘थिओब्रोमाइन’ नामक पदार्थले खोकीलाई दबाउन सक्ने क्षमता राख्ने अनुसन्धान कर्ताहरुको भनाइ रहेको छ।

‘थिओब्रोमाइन’ पदार्थ चिप चिप टाँसिने किसिमको हुने हुँदा त्यसले घाँटीको नर्भहरुमा पुग्दा एउटा बाक्लो लेयर बनाउन गर्दछ।

उक्त लेयरका कारणले बिरामीले खोक्नु पर्ने महशुष नहुने गरेको पाइएको छ। महमा पनि यसै प्रकारको टाँसिने पदार्थ हुने भएको कारणले मह र कागतीको सिरपलाई पनि खोकीको राम्रो उपचारका रुपमा लिइने गरिन्छ।

अझ, मह र कागतीको सिरपभन्दा पनि चकलेटले अझ चाँडो खोकी ठीक गर्न सक्ने देखिएको अनुसन्धानले खुलाएको छ।

खोकीको औषधि भन्दा कोकोले छिटै राहत दिलाउन सक्ने भन्ने विषयमा वैज्ञानिकहरुले थप अनुसन्धान गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्