गगन थापाको भव्य चियापान : सरकार अधिनायकवादतर्फ उन्मुख भएको दावी



१३ असोज २०७६, काठमाडौं

काठमाडौं क्षेत्र नं.४ का संघीय सांसद गगन कुमार थापाले विजयादशमी, दिपावली, नेपाल संवत र छठ लगायतका पर्वहरुको उपलक्ष्यमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

सांसद थापाको सचिवालयद्वारा आयोजित कार्यक्रममा स्थानीय पार्टीका नेताकार्यकर्ता मात्र होईन अन्य जिल्लाको नेतृत्वमा रहेका कांग्रेसका नेता कार्यकर्ताको समेत बाक्लो उपस्थिति देखिन्थ्यो ।

कार्यक्रमको रोचक पक्ष के देखिन्थ्यो भने थापा आफैँ गेटमा बसेर सहभागी सबैलाई खादा लगाउँदै हात मिलाउने, नमस्कार गर्ने, अंगालोमा हाल्ने, सेल्फी खिच्ने र सामान्य कुराकानी गर्ने काममा सक्रियतापूर्वक करिब १ घण्टा बढी बिताए ।

खादा मार्फत थापाले सहभागीलाई सम्मान गरिरहँदा पर्दामा उनले संसदमा सरकार र प्रधानमन्त्रीलाई खबरदारी गरेका धेरै भिडियोका सम्पादित भागहरु सुन्न लायक देखिन्थे । जहाँ वर्तमान प्रधानमन्त्री र सरकारका विरुद्धका भाषणहरु सहभागीले निकै रोचकताका साथ सुनिरहेका थिए । सहभागीहरुलाई सम्बोधनका क्रममा समेत थापाले अधिकांश समय सरकारको विरुद्धमा खर्चेका थिए ।

आफ्नो कार्यकालमा गरेका कामहरु समेत सार्वजनिक गरेका थापाले २ वर्षको मुख्य उपलब्धीको रुपमा सरकारप्रतिको खबरदारीलाई चित्रित गरे ।

चियापान कार्यक्रममा युवाको लोभलाग्दो सहभागीता
नेपाली कांग्रेसका प्राय: कार्यक्रममा युवापुस्ताको खासै आकर्षण देखिदैन तर थापाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका मध्ये करिब ७० प्रतिशत सहभागीहरु युवा नै देखिन्थे । विधार्थी नेता मनोज बैद्यको चहलपहल हेर्दा उनी आफैँ आयोजक जत्तिकै खटेका देखिन्थे । गगन थापा जस्तै उनीसँग फोटो खिच्ने युवाहरुको भिड पनि लोभलाग्दो नै देखिन्थ्यो । कार्यक्रममा आफूलाई निर्वाचन जिताउन सहयोग गर्ने वडासमिति लगायत सबैलाई सम्मान गरेका थापाले देउवा पक्ष भन्दै केहीलाई छुटाएको भनी बाहिर रुदै गरेका महिला सहभागी पनि देखिन्थे ।

विधार्थी नेता वैद्यमात्र होइन, कुन्दनराज काफ्ले, राजकुमार ढुंगाना लगायतका विधार्थी नेताहरु समेत ठूलो समूह सहित कार्यक्रममा सहभागी भएका देखिन्थे । पार्टीबाट स्थानीय निर्वाचनमा उम्मेद्वारी दिएकाहरु समेत कार्यक्रममा सहभागी थिए । कार्यक्रममा धेरै अभिभावक आफ्ना छोराछोरी सहित आएका देखिन्थे ।

सांसद थापाको चतुर्‍याई
संसदमा नेकपाको करिब दुई तिहाई बहुमत भएकोले उनीहरु आफूले चाहेको विद्येयक पारित गर्छन, गर्दैछन भन्ने थापाले पास हुन लागेको स्वास्थ्य विद्येयक आफ्नो पहलमा जनपक्षीय रुपमा आउन लागेको बताउँदा सहभागीहरुले गडगडाहट ताली पिटेका देखिन्थे ।

संघीय संसदले अहिले साना विकास निर्माणका कामहरु गर्न नमिल्ने भएकोले त्यस्ता परियोजनाहरु स्थानीय र प्रदेश सरकारले गर्ने भाषण गरेका थापाले स्थानीय सरकार र पुननिर्माण प्राधिकरणले निर्माण गरेका बगैंचाहरु, स्कूल र स्वास्थ चौकीहरु आफ्नो पहलमा निर्माण सम्पन्न र निर्माणाधिन भनेर प्रस्तुती दिदा सहभागीहरुले जोडतोडले तालि बजाई रहेका थिए ।

अझ चाखलाग्दो कुरा काठमाडौं महानगरपालिका वडा नं. १ मा महानगरको करिब ९ करोड बजेटमा निर्माणाधिन कमलपोखरी समेत आफ्नै नेतृत्वमा भएको दावी गरे त्यतिमात्र होइन बूढानीलकण्ठ नगरपालिकाका विभिन्न वडामा निर्माणाधिन पार्कहरु, विद्यालय भवन समेत आफ्नै पहलमा सम्पन्न भएको बताउँदा समेत सहभागीहरु गदगद हुँदै तालि पिटेका देखिन्थे ।

सांसद थापाले आफ्नो उपलब्धिमा निर्माण सम्पन्न भएका कामहरु मात्र होईनन्, आफ्नै सरकारको पालामा टेन्डर भएका कपन क्षेत्रका बाटाहरु आफ्नो धर्ना र खबरदारीको पहलले निर्माणले गति पाएको  अभिव्यक्ति समेत अफ्ठ्यारो नमानी दिईरहेका थिए ।

वाककलामा पोख्त थापाको प्रस्तुति सुन्दा गर्‍यो कि क्या हो भन्ने भ्रम प्राय सहभागीलाई परेको देखिन्थ्यो । यहि वाककलाको फाईदा लिदै उनले आफ्नो क्षेत्रमा भएका सबै कामहरु आफूले गरेको चर्चा  मात्र गरेनन्, वडा नं. ७ को पहलमा खाली गरिएको मेडिकियर हस्पिटल पछाडीको जग्गा खाली गाराउन आफ्नो भूमिका रहेको; त्यसमा टहरा बनाउन पहल भईरहेको बताउँदै सुन्दर बगैंचा बनाउनुपर्ने र त्यसमा आफूले पहल गर्ने समेत भन्न भ्याए ।

उनका भाषणहरु सुन्दा लाग्थ्यो, गगन थापा त्यस्तो अलौकिक संसारबाट आएका छुट्टै व्यक्ति हुन्; जसले सरकारलाई ट्रयाकमा ल्याउनेदेखि राम्रा कानुनहरु आफ्नै नेतृत्वमा बनाउँछन् र आफ्नो क्षेत्रको विकास आफ्नै पहलमा मात्र हुन्छ । मानौँ संघीय; स्थानीय र प्रदेश सरकारहरु उनको आदेशको पर्खाईमा बस्छन र उनको आदेश आउने बित्तिकै परिचालित हुन्छन् ।

पूर्व अर्थमन्त्री आए क्षेत्रीय सभापति राजु श्रेष्ठ आएनन्
शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व अर्थमन्त्री तथा कांग्रेसका नेता रामशरण महत, पार्टीका केन्द्रीय सदस्य उदय शम्शेर राणा, संघीय सांसद दिव्यमणि राजभण्डारी, प्रदेश सभा सदस्यहरु राधा घले, न्हुछे नारायण श्रेष्ठ सहभागी रहेका थिए । तर नेपाली कांग्रेसका क्षेत्रीय सभापति राजु श्रेष्ठ र प्रदेश सभासद नरोत्तम बैद्य सहभागी भएनन् ।

प्रतिक्रिया दिनुहोस्