
१२ असोज २०७६, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले दशैं, तिहारसहितका मुख्य चाडपर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।
२९ असोजमा भृकुटीमण्डपमा आयोजना गर्न लागिएको चियापान कार्यक्रममा २५ हजार कार्यकर्ता र ५ हजार अन्य क्षेत्रका व्यक्तिहरुलाई निम्तो गर्ने तयारी भएको नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताए।
‘चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमका लागि निम्तोकार्ड बाँड्ने तयारी भएको छ’, उनले भने, ‘एक लाखलाई बोलाउने कुरा सत्य होइन। पार्टीका कार्यकर्ता करिब २५ हजार कार्यकर्ता र ५ हजार अन्यसहित ३० हजारलाई निम्तो गर्न लागिएको छ।’
नेकपा केन्द्रीय कार्यालयले आयोजना गर्ने चियापान कार्यक्रममा कार्यकर्ता, शुभेच्छुक, अन्य राजनीतिक नेताहरु, कुटनीतिक नियोगका अधिकारी, संवैधानिक निकायका पदाधिकारी, सांसद, मन्त्री, पत्रकार, सामाजिक जीवनका विशेष व्यक्तिहरु, खेलाडी र कानुन व्यवसायीसहितको उपस्थिति हुने उनले जानकारी दिए।
यो चियापान कार्यक्रम तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले सुरु गरेका थिए।





