साफ यू–१८ च्याम्पियनसिपः माल्दिभ्सद्वारा भुटान स्तब्ध



१२ असोज २०७६, काठमाडौं

नेपालमा जारी साफ यू–१८ च्याम्पियनसिप अन्तर्गत तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा माल्दिभ्स विजयी भएको छ।

ललितपुरस्थित एन्फा कम्प्लेक्समा आइतबार बिहान भएको खेलमा भुटानमाथि १–० को जित निकाल्दै माल्दिभ्स तेस्रो भएको हो।

माल्दिभ्सलाई जित दिलाउन इब्राहिम इमरानले ७५ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो। मैदानको मध्यभागबाट आएको लामो पासलाई इमाराले प्यानल्टी बक्सभित्रबाट भुटानका रक्षकलाई बिट गराउँदै जाली चुमाउन सफल बने।

समूह चरणको खेलमा साविक विजेता नेपाललाई पराजित गरेको भुटान सेमिफाइलनमा बंगलादेशसँग ४–० ले पराजित भएको थियो। यस्तै तेस्रो बनेको टोली माल्दिभ्स पनि भारतसँग ४–० ले नै पराजित भएको थियो।

६ देशले सहभागिता जनाएको प्रतियोगितामा आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी राउन्ड रोविन प्रणालीमा प्रतिस्पर्धा गराएको थियो। यसअघि सम्पन्न दुई संस्करणको उपाधि विजेता नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

प्रतियोगिताको उपाधिका लागि भने आजै दिउसो २ः३० बजे भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्