
१२ असोज २०७६, काठमाडौं
घटस्थापनाको दिन आइतबार(आज)बाट देशैभर चल्ने सार्वजनिक सवारी साधनका लागि इजाजत पत्र (रुट परमिट) खुल्ला गरिएको छ।
यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक सूचना जारी गर्दै रुट परमिट खुल्ला गरेको हो। त्यस्तै १० चक्के भन्दा ठूला सवारी साधनलाई काठमाडौं प्रवेशमा रोक लगाइएको छ।
रुट परमिट खुल्ला भएपछि पूर्वमा चल्ने गाडीले पश्चिममा पनि यात्रु बोकेर जान पाउने छन्। रुटमा रोकतोक हुने छैन।
‘यसरी चल्ने गाडीले कुनै एउटा रुटको परमिट लिएको हुनु पर्ने छ, रुट नलिई गाडी चल्न पाउँदैन,’ यातायात व्यवस्था विभागका विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘१० चक्के र यो भन्दा ठूला ट्रक, ट्र्रेलर सबैलाई चितवनटबाटै रोकेका छौं।’
खाद्यान्न, औषधि, कुहिने सामान, खसीबोका बोकेर आएका साधनलाई रोकिने छैन। निर्माण सामाग्री बोकेर आउने १० चक्केभन्दा ठूला सवारी साधनलाई रोकिने छ। नागढुंगा भएर आउने ठूला सवारी साधनलाई मात्र रोक लगाइएको महानिर्देशक हमालले बताए। यो खण्डमा सवरी जाम बढी हुन्छ।
दशैंका समयमा धेरै सवारी साधन यही खण्ड भएर जाने गरेका छन्। यो खण्ड भएर दैनिक ८ हजार भन्दा बढी सवारी साधन ओहोर दोहोर गर्ने गरेका छन्। चाडबाडको समयमो यो संख्या दोब्बर हुन्छ।





