
१२ असोज २०७६, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा विचाराधिन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा निश्चिन्त हुन पत्रकारहरुलाई आग्रह गरेका छन्।
अध्यक्ष प्रचण्डले संसदमा पेश गरिएका सबै विधेयकलाई संविधानको भावना र मर्म अनुसार अघि बढाउन आफ्नो पार्टी दृढतापूर्वक उभिएको बताए।
‘प्रेसलाई संकुचन गर्ने, नियन्त्रण गर्ने कुनै पनि विधेयक आयो भने त्यो संविधानको मूल मर्म र भावनाविपरीत हुन्छ,’ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘संसदमा पेश गरिएका चालू विधेयकलाई परिमार्जन गर्ने, संशोधन गर्ने र त्यसलाई संविधानको भावना र मर्म अनुसार नै बनाउने कुरामा आफ्नो पार्टी दृढ रहेको विश्वास म पत्रकार साथीहरुलाई दिलाउन चाहान्छु।’
अध्यक्ष प्रचण्डले आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको पनि उल्लेख गरे।





