साझा पार्टी राजनीतिक एजेण्डामा मुलुकको पहिलो पार्टीः संयोजक मिश्र



११ असोज २०७६, काठमाडौं

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जनताको मुल एजेण्डा सार्वजनिक रुपमा उठाउन सक्ने हिसाबले साझा पार्टी मुलुकको पहिलो राजनीतिक शक्ति भएको बताएका छन्।

शनिबार साझा पार्टी सिरहाको संयोजक घोषणा तथा नागरिक सम्बोधन कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक मिश्रले प्राविधिक रुपमा पाँचौ स्थानमा भएपनि राजनीतिक रुपमा पहिलो पार्टी भएको दावी गरेका हुन्।

‘बिनासंगठन पार्टी निर्माणकै अवस्थामा पुराना पार्टीलाई पछि पार्दै हाम्रो पार्टी पाँचौ स्थानमा आउनु जनताको ठूलो साथ हो।’ संयोजक मिश्रले भने।

साथै मधेश काठमाडौं र प्रदेश सरकार दुवैबाट पीडित भएको भन्दै शिक्षामा सबैभन्दा ठूलो लगानी नगरेसम्म मधेशको विकास असम्भव हुने मिश्रको भनाइ छ।

फरक प्रसंगमा संयोजक मिश्रले संविधानलाई नाघेर हिंसात्मक गतिविधिमा लागेको विप्लव माओवादीलाई सरकारले प्रतिबन्ध लगाउनु स्वभाविक भएको बताए। हिसांत्मक गतिविधि र बम विस्फोट गराउनु शान्ति विरोधी गतिविधि भएको उनले औंलाए।

भेलाले सिरहा जिल्ला संयोजकमा स्थानीय पार्टी अगुवा धनपति महत्तोलाई चयन गरेको छ। समारोहमा पार्टीका केन्द्रीय सदस्य मुमाराम खनाल, प्रकाशचन्द्र परियार, अब्दुश मियाँ लगायतको सहभागिता थियो।

प्रदेश नं २ मा सिरहा पार्टीको पहिलो औपचारिक जिल्ला संगठन हो।

प्रतिक्रिया दिनुहोस्