किराँत राई यायोक्खाद्वारा देशैभर अन्तरक्रियात्मक प्रशिक्षण, भक्तपुरबाट सुरुवात



११ असोज २०७६, काठमाडौं

किराँत राई यायोक्खा केन्द्रीय कार्यसमिति संगठन विभागले शनिबार भक्तपुरमा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

किराँत राई यायोक्खा जिल्ला कार्यसमिति भक्तपुरको व्यावस्थापनमा भएको कार्यक्रममा संस्थाको सांगठानिक संरचना, उद्देश्य, विधान, भावी योजना र धर्म, संस्कार संस्कृति, भाषा र लिपीसम्बन्ध विभिन्न वत्ता/प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए।

वत्ता/प्रशिक्षकका रुपमा किराँत राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई, किराँत राई यायोक्खा प्रज्ञा परिषद्का कुलपति जयकुमार राई, उप–महासचिव भिम राई, सह–कोषाध्यक्ष परशुराम राई, सल्लाहकार चन्द्रविक्रम राई, केन्द्रीय सदस्य मन्जु सोताङ, डा. तारामणी राई,   भोगीराज चाम्लिङ र सन्तु राई थिए।

अध्यक्ष दिवस राईले किराँत राई यायोक्खा अब गाँउगाँउमा गएर प्रशिक्षण चलाउने बताए।

“किँरात राई यायोक्खा ६५ भन्दा बढी जिल्लामा उपस्थिति जनाएको संस्था हो। देशविदेशमा यसको शाखाहरु छन्। अब सबै शाखाहरुमा किराँत राई समुदायलाई विभिन्न राजनीतिक, भाषा, धर्म, संस्कार, संस्कृतिको बारेमा प्रशिक्षण गरिन्छ।” उनले भने, “प्रशासनिक तथा राजनीतिक क्षेत्रमा चाँडै राईहरु अब्बल स्थानमा पुर्याउने लक्ष्य छ।”

यस्तै सल्लाहकार चन्द्रविक्रम राईले १ नं प्रदेशलाई किराँत नामाकरणको लागि नीतिगत रुपमा अगाडि अघि सारे।

डा. तारामणी राईले किराँत राईको सर्वमान्य लिपीलाई जोड दिए। साथै भाषालाई सरल तरिकाले प्रस्तुत गर्ने लिपीको आवश्यकता रहेको औंलाए।

देशैभरी प्रशिक्षण कार्यक्रम लाने कुरा बताउँदै संगठन प्रमुख भिम राईले भने “हामी हरेक राई समुदायमा पुग्छौं। यसको सुरुवात भक्तपुर जिल्लाबाट भयो।”

यसैगरी, किराँत राई यायोक्खा जिल्ला कार्यसमिति भक्तपुरका सचिव जमिन राईले कार्यक्रम सफलताका साथ भएको र प्रशिक्षण कार्यक्रमका सन्देशहरु भक्तपुरका हरेक किराँत राई समुदायका प्रारम्भिक कार्यसमितिमा पुर्याउने अभियान चलाउने बताए।

प्रतिक्रिया दिनुहोस्