
११ असोज २०७६, काठमाडौं
बूढनीलकण्ठ नगरपालिका वडा नं १० स्थित कपन जोरधारा खानेपानी संरक्षण संस्थाको ११ औं साधारणसभामा बूनपा प्रमुख उद्धवप्रसाद खरेलले जोरधारा खानेपानी संस्था मार्फत कपन क्षेत्रमा खानेपानी उपलव्ध गराउन निकै ठूलो योगदान रहेको भन्दै यसको विकासमा नगरपालिकाले सधै सहयोग गरिरहने धारणा राखे ।

बूनपा ११ का वडाध्यक्ष राजु अधिकारीले जोरधारा खानेपानीले बूनपा १०, ११ र १२ का ११ सय घरधुरी मध्ये सबैभन्दा बढि वडा नं ११ ले प्रयोग गरेको बताउदै यसको संरक्षणमा लाग्न सबै वडावासीमा अनुरोध गरे ।

वडामा अहिले खानेपानी अभाव भएको बताउँदै वडाध्यक्ष अधिकारीले आउँदा दिनमा यस किसिमको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउदै ठेकेदारले गरेका गल्तिका कारण वडावासीले पानी तथा सडकमा चरम समस्या झेल्न परेको बताए ।

त्यसैगरी बूनपा १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले यस योजनालाई सके आफूले नसके माथिल्लो तहमा गएर पटक पटक विभिन्न किसिमको बजेट छुट्याउन सहयोग गरेको बताए ।

कुवाबाट शुरु गरिएको जोरधाराबाट आज ११ सय घरधुरीका २५ हजार जनताले सेवा लिन पाउनु खुसिको कुरा रहेको बताउँदै यसको संरक्षणका निम्ती नगर तथा वडाले के कसरी सहयोग गर्नु पर्छ त्यस किसिमको सहयोग गर्न तयार रहेको बताए । ११ सय घरधुरी मध्ये आधा पनि कार्यक्रममा उपस्थित नहुँदा वडाध्यक्ष भट्टराईले उनीहरुलाई आफैले दैनिक रुपमा प्रयोग गर्ने पानीको चासो नभएकोमा दुख व्यक्त गरे ।
बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईले जोरधाराको पानीमा थोरै मात्रामा विषाधी भेटिएको बताउदै वडा तथा नगरले वडावासीलाई जुनसुकै हालतमा स्वच्छ र शुद्ध पानी कसरी सहज रुपमा उपलब्ध गराउने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए ।
संस्थाका कार्यबाहक अध्यक्ष टंक सापकोटाको अध्यक्षता गरेको साधारण सभामा संस्थाका महासचिव कुमार कसजु श्रेष्ठले प्रतिवेदन प्रस्तुत तथा संचालन सालिकराम भट्टराईले गरेका थिए ।





