बाँकोट कुमारी स्थान संरक्षणमा सहयोग गर्ने डा. राजन भट्टराईको प्रतिबद्धता



११ असोज २०७६, काठमाडौं

काठमाडौं महानगरपालिका वडा नं ७ चाबहिल स्थित बाँकोट कुमारी स्थान संरक्षण समितिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य डा. राजन भट्टराईले संसारमा सबैभन्दा बढि टनेल मार्ग निर्माण गरेका चिनियाँहरुको अनुभव र प्रविधिलाई प्रयोग गरेर चाबहिल चोकको ट्राफिक जाम व्यवस्था गर्न टनेलमार्ग निर्माणको लागि आवश्यक गृहकार्य भईरहेको बताएका छन् ।

कार्यक्रममा डा. भट्टराईले आफू सानोमा खेल्ने गरेको ठाउँ बाँकोट क्षेत्रको विकासका लागि महानगरले तयार पारिरहेको गुरुयोजनालाई मूर्तरुप दिन आवश्यक सुझाव र बजेटको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वडा नं ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले चाडपर्वको अवसरमा विकास निर्माणको लागि गरिएको छलफल प्रति  धन्यवाद व्यक्त गर्दै महानगरले तयार पारिरहेको गुरुयोजनामा आवश्यक छलफल गरि बजेटको प्रबन्ध गर्ने जानकारी गराए ।

बाँकोट कुमारी स्थान संरक्षण समितिका अध्यक्ष नवराज थापाले ऐतिहासिक महत्वको बाँकोट कुमारी थानलाई खुल्ला राखि व्यवस्थित गर्न आवश्यक बजेटको लागि डा. राजन भट्टराईले बाल्यकाल बिताएको ठाउँ समेत भएकोले सहयोग गर्न समेत अनुरोध गरे ।

समितिका उपाध्यक्ष सन्तोष तिमल्सेनाले स्वागत मन्तव्य राख्दै क्षेत्र नं ४ का अन्य स्थानमा विकासको लागि काम गरेका डा. राजन भट्टराईले बाँकोट क्षेत्रको विकासका लागि समेत नेतृत्व गर्न अनुरोध गरे ।

समितिका सचिव प्रवेश रोक्काद्वारा संचालित कार्यक्रममा वडा सदस्यहरु कृष्णमणी भट्टराई, निर्मला पुडासैनी लगायत अन्य समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

औपचारिक कार्यक्रमको समाप्ति पछि डा. भट्टराई स्थानीय विकास निर्माणको अनुगमन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्